रामेछाप । सरकारबाट मुआब्जा बुझेको एक बर्ष वितिसक्दा पनि सडक रेखामा पर्ने घर टहरा नहटाएपछि सेलेघाट –रामेछाप – साँघुटार सडक आयोजनाले डोजर चलाउन थालेको छ ।

गत असार अघीनै मुआव्जा बुझेका घर टहरा धनीले आफ्नो संरचना बारम्बार सूचना गर्दा पनि अटेर गरी नभत्काएपछि डोजर लगाएर लडाईएको हो । बुधबार आयोजनाले मन्थली नगरपालिका ६ भलुवाजोरको हुलाकडाडाँ देखि रामेछाप नगरपालिका २ देउराली सम्म विभिन्न स्थानमा रहेका ७ वटा घर टहरा डोजर लगाएर लडाएको छ ।

आयोजनाका सामाजिक परिचालक कृष्णहरी खत्रीका अनुसार मुआब्जा वितरण सकेपछि गत बर्षको मंसिरमानै आयोजनाले सूचना जारी गरेर सडक रेखामा पर्ने घर टहराको क्षतिपूर्ति बुझेका घरधनीहरुले आ आफ्ना संरचना हटाउन आग्रह गरेको थियो । उक्त सूचनालाई अटेर गरेपछि दोश्रो सूचना जारी भएको र घरदैलोमा पुगेर सूचना टाँस गर्नुको साथै सडकमा माईकिङ समेत गरी सम्बन्धितलाई जानकारी दिइएको थियो ।

खत्रीका अनुसार त्यतिगर्दा पनि सडक निर्माण स्थल खाली नभएपछि जिल्ला प्रशासन कार्यालयमा बैठक बसेर आवश्यक निर्णय लिइएको थियो । उक्त निर्णय बमोजिम सुरक्षाकर्मीको समेत सहयोग लिई घर टहरा हटाउन बुधबार डोजर चलाइएको हो । खत्रीका अनुसार डोजर लगाएर घर भत्काउने क्रममा केहिका संरचना मात्र र केहिमा सामान समेत परेका छन् ।

अझै दुई दर्जन घर टहरा हटाउन बाँकी रहेको उल्लेख गर्दै खत्रीले आयोजनाबाट सुरक्षाकर्मी समेतको सहयोग लिई डोजरले घर लडाउन थालेपछि साँघुटार तिरबाट केहि दिनको म्याद मागिएको वताए । ‘केहिले आफैले त्यस्ता संरचना हटाउन थालेको सूचना पनि पाएका छौं ’ खत्रीले भने जेठ ४ गते सम्मका लागि हामीले समय दिएका छौं ।

भारतिय एक्जीम बैंकको सहयोगमा निर्माण भईरहेको ५० किलोमिटर लामो उक्त सडक निर्माणको लागि स्थानीयले निशूल्क जग्गा उपलव्ध गराएका थिए । उक्त सडकको रेखामा कुल २ सय ४२ वटा घर टहरा परेका र ति सवैको राज्यले मूल्यांकन गरी मुआब्जा वितरण गरिसकेको छ ।