रामेछाप । दलित परिवारमा जन्मेर दुर्गम जिल्लाको सामुदायिक विद्यालयमा अध्ययन गरी गत बर्षको एसईई परिक्षामा सामेल भएकी रामेछापको मन्थली माविकी छात्रा प्रतिमा नेपालीले सोमबार प्रकाशित एसईईको नतिजामा सबैलाई छक्क पार्ने गरी ४ जीपीए ल्याएकी छिन् ।

‘मेरी छोरीले ४ जीपीए ल्याई ’ मंगलबार बुबा प्रेमराज नेपाली जिल्लामा सर्बोत्कृष्ट नतिजा ल्याउने दलित परिवारकी एक्ली छात्रा प्रतिमालाई लिएर वजारमा चिनेजानेको सबैको घरमा खुसी बाड्न पुगे । छोरीको नतिजा प्रति उनको खुसीको सिमा थिएन । बुबा सगैं हिंडेकी प्रतिमा पनि गद्गद् हुनेनै भईन् , उनी पनि बधाई खादै बुबाकै पछि लागेकी थिईन् ।

जिल्लाका सामुदायिक र निजी विद्यालय गरी साधारणधार तर्फ २७ जना विद्यार्थीले उच्च अंकका साथ ४ जीपीए ल्याएकोमा मन्थली माविबाट उनी सगैं जम्मा २ जना ४ जीपीए ल्याउनेमा परेका छन् । अर्की छात्रा ब्राम्हण परिवारकी हुन् । ‘मलाई नेपालीमा चाँहि अलि विग्रेको हो कि जस्तो लागेको थियो ’ प्रतिमा भन्छिन् – तर त्यसमा पनि अरु सरह ए प्लसनै आएछ ।

प्रतिमा कक्षा १ देखिनै मन्थली माविमा अध्ययन गरेकी छात्रा हुन् । प्राय प्रथम र द्धितिय हुने उनी विचका कक्षामा केहि खस्केकी थिईन् । विच विच तिर दुई पटक पाँचौं पनि भए , प्रतिमा भन्छिन् – ७ कक्षा देखि चाँहि दोश्रो हुनु परेन, सधैं पहिलोनै थिए ।

घर नजिकैको विद्यालयमा उनी अतिरीक्त कक्षा लिन विहानै पुग्थिन् । विद्यालयले त्यस्तो कक्षा लाई ट्यूसन भन्ने गर्छ । अरु धेरै खर्च गरेर छोराछोरी पढाउन नसकेपनि ट्यूसन फि भने प्रेमराजले जुटाएका थिए । स्कुलमा पहिलो हुनेलाई अरु धेरै खर्च लाग्ने कुरा भएन । त्यसमाथि उनी दलित छात्रा थिईन् ।

स्कुलबाट बेलुका अबेर फर्केपछि घरको वातावरण पनि अध्ययन मैत्री थियो । बाबु आमाले अध्ययनमै रुचि राख्ने प्रतिमालाई सकेसम्म अरु काम अह्राउदैनथे । ‘मैले मज्जाले अध्ययनको मौका पाउथे ’ प्रतिमा भन्छिन् – बुबा आमाले पढाईका लागि कुनै कसर बाँकी राख्नुभएन ।

प्रेमराज नेपालीको घर खाँडादेवि गाउँपालिका ९ गोगनेमा पर्छ । उनी त्यहि हुर्के । विवाह पछि पहिलो सन्तान भएपछि उनी जिल्ला सदरमुकाममा पेशा व्यवसाय गर्ने गरी झरे । मन्थलीमा आएपछि अरु ४ सन्तान थपिए । त्यसमध्येकी तेश्री हुन् प्रतिमा ।

गोगने स्कुलमा कक्षा ३ सम्म पढेका प्रेमराजलाई व्यापारले चाँहि पछि पारीदियो । सदरमुकाममा त्यति धेरै पेशा व्यवसाय नचलेपछि उनी छेउ लाग्दालाग्दै अहिले घरमै सिलाईको काम गर्छन् । तर व्यापारमा पछि परेपनि छोराछोरीको पढाई लेखाईले समाजमा उनको नाक उचोँ पारेको छ । उनी अरु भन्दा ईज्जतका साथ आफ्ना छोराछोरीको अध्ययनको बारेमा खुलेर चर्चा गर्छन् ।

‘स्कुलमा एकजना सरले तिम्रो जिननै तगडा सम्म भन्नुभयो ’ प्रेमराज भन्छन् – हुन पनि सबै तगडै भएर निस्कीए । प्रेमराजको पहिलो सन्तानको रुपमा जन्मिएका रुपेश नेपाली कम्प्युटर इन्जिनियर छन् । जेठी छोरी रुपा नेपाली आर्किटेक्चर ईन्जिनियर छिन् । माईली छोरी स्मृति नेपाली बिएसी नर्सिङ अध्ययन गर्दैछिन् । ति सबैले जेहेन्दार भएकै कारण पूर्ण छात्रवृतिमा अध्ययन गरेका हुन् । सबै तगडा । सबै अध्ययन भनेपछि हुरुक्क हुने । दाजु दिदीले राम्रो पढेकै कारण प्रतिमाले पनि उनीहरु भन्दा कमजोर नहुने अठोट लिएर अध्ययनका लागि दिलोज्यान दिईन् । ‘ पढनमा ज्यादै रुचि राख्ने गर्थि ४ जीपीए पड्काई ’ प्रेमराजले छोरी प्रतिमालाई सुम्सुम्याउदै भने । उनको कान्छो छोराले भर्खर नर्सरी सकेको छ । ‘राम्रो विरुवाको चिल्लो पात भनेझै त्यो सानो केटोले पनि ४ जीपीए ल्याएर माथिल्लो कक्षामा पो पुग्यो ’ प्रेमराज सानो छोराको बारेमा खुसी साट्दै भन्छन् – स्कुलबाट आउना साथ होमवर्क गर्छ, पढ भन्नै पर्दैन् ।

अव प्रतिमालाई पनि उच्च शिक्षा अध्ययनको कुनै चिन्ता छैन् । सोमबार अबेर नतिजा प्रकाशित भएपछि प्रेमराजको मोबाईल प्राय हातैमा छ । फोन उठाउन भ्याई नभ्याई छ । हिजै देखि मोबाईलमा घण्टी बजेको बज्यै छ । काठमाडौंका एक से एक नाम चलेका कलेजले उनलाई बधाई दिनुका साथै छोरीलाई आफ्नो कलेजमा भर्ना गरिदिन निम्ता दिइरहेका छन् । ‘सबैले निशूल्क अध्ययनका लागि ल्याईदिनुस भनेर फोन गरेका ग¥यै छन् ’ प्रेमराज भन्छन् – तीस चालिस कल आईसक्यो । उनले ५-७ वटा कलेजको नामै लिए ।

बाबुलाई जति फोन आएपनि प्रतिमा नेपालीको मनमा परेको कलेज बाट चाँहि फोन आएको छैन् । उनको रोजाईमा परेको छ – सेन्ट जेभियर्स कलेज । ‘पहिले सेन्ट जेभियर्समा विज्ञान विषयमा अध्ययनको मौका पाउँछु कि , प्रतिमा भन्छिन् – त्यहाँ प्रयत्न गर्छु, भएन भने बल्ल अर्कोमा जाने कुरा सोचौंला ।