रामेछाप । गडर तान्ने क्रममा असाबधानीका कारण भाँचिएको रामेछापको मन्थली नगरपालिकामा पर्ने ठेडिखोला पुल पुननिर्माणको काम अन्तिम चरणमा पुगेको छ । गत बर्ष उक्त पुलको एउटा स्पान भाँचिएको थियो ।
मन्थली नगरपालिका वडा नम्बर ६ मा पर्ने कुनौरी र वडा नम्बर ७ मा पर्ने ठेडिखोला जोड्ने गरी तामाकोशी नदी माथि निर्माण भएको उक्त पुलबाट आउदो असार महिनामानै यातायात संचालन गर्ने गरी पुननिर्माण कार्यलाई अन्तिम रुप दिइएको हो ।
कालिका कल्पबृक्ष जेभिले निर्माण गरेको २ सय ३० मिटर लामो र ११ मिटर चौडा उक्त पुलको ५४ मिटर लामो एउटा स्पान गत बर्ष भाँचिएको थियो । भाँचिएको भाग फालेर निर्माण व्यवसायीले उक्त स्पान पुननिर्माण गरेको हो । उक्त भाग पुननिर्माण गर्दा झण्डै साँढे ३ करोड लागत लागेको जनाइएको छ ।
पुलको काम करिव अन्तिम चरणमा पुगेकोले असार भित्रै सवारी चल्ने गरी तयारी गर्ने साईट ईन्जिनियर राजेश पौडेलले जनाएका छन् । पौडेलका अनुसार अव साईड रेलिङ लगाउने र थोरै अन्य कार्य बाँकी छ । पुलको दुवै तर्फको पहँुच मार्गको काम समेत आधाउधिँ सकिएको छ ।
पौडेलका अनुसार २०७८ सालमा उक्त पुल निर्माणका लागि सरकार संग २२ करोड ५५ लाख ४० हजारमा संझौता भएको थियो । उक्त रकम भ्याट र पिएस आईटम बाहेकको हो । ठेडिखोला पुल सम्पन्न भएपछि काठमाडौं र पश्चिमी रामेछाप तर्फको आउजाउमा थप सहजता हुनेछ ।
