रामेछाप । कुनै पनि व्यापार व्यवसाय मार्फत सर्वसाधारण नागरिकहरुले ठगिनु नपरोस भन्ने उद्धेश्य राखेर सरकारले मूल्य पारदर्शिता सप्ताह मनाइरहेका बेला रामेछाप उद्योग वाणिज्य संघले व्यवसायीको घर दैलोमा पुगेर मूल्य सूचिका साथै व्यवसाय सचेतना दिन थालेको छ ।
रामेछाप उद्योग वाणिज्य संघका बाणिज्य उपाध्यक्ष सुरेश उदासको संयोजत्वमा गठित बजार अनुगमन तथा व्यवस्थापन उप–समितिले बुधबार मन्थलीका विभिन्न ३३ जना व्यवसायीकोमा पुगेर मूल्य सूचि पारदर्शिताका साथै व्यवसायीले पुरा गर्नुपर्ने अन्य विषयहरुमा सचेतना गरेको थियो ।

उपभोक्ताले देख्ने गरि मूल्यसूचि सार्वजनिक, उपभोग्य बस्तुको म्याद भए नभएको, म्याद नाघेका उपभोग्य सामाग्रिको यथोचित व्यवस्थापन, करपाटी, खरिद तथा विक्री खाता, विल बिजक जारी र सरसफाई सम्मको कुरामा व्यवसायीहरुलाई समितिका पदाधिकारीले सचेतना गराएका थिए । अनुगमन टोलीमा सचिव सिताराम लोहार, एशोसियट सदस्य टीकाराज आरण, सदस्यहरु किश्वर पौडेल र देवचन्द्र पौडेल रहेका छन् ।
जिल्ला अनुगमन समिति र स्थानीय अनुगमन समितिले बजार अनुगमन गर्दा कुनै न कुनै व्यवसायीहरु जरिवानामा पर्ने र सामाग्रीहरु जफत गर्ने क्रमलाई पूर्णत रोक्ने उद्धेश्यले रामेछाप उद्योग वाणिज्य संघका पदाधिकारीले व्यवसायीकोमा पुगेर आफै अनुगमन गर्ने र सुझाव दिन थालेका हुन् । संघले बजार अनुगमनलाई निरन्तरता दिने जनाएको छ ।

