रामेछाप । जिल्लामा विरलै हुने विशेषज्ञ स्वास्थ्य शिविर आयोजना गरेपछि सोमबार मन्थली नगर अस्पतालमा विरामीको ओईरो लागेको छ । काठमाडौं मेडिकल कलेजका विशेषज्ञ सहितको शिविर आयोजना हुदाँ आसपासबाट आएका विरामीको विहान देखि बेलुका सम्मै अस्पतालमा खचाखच देखिए ।
जिल्लामा बरिष्ट चिकित्सकको सेवा लिन नसकेका विरामीहरुले काठमाडौंको सुविधा सम्पन्न अस्पतालमा आईने सेवा घरदैलोमानै र निशूल्क पाउने भएपछि एक मात्र हैन एक भन्दा बढी रोगको परिक्षण गराउन विरामीहरु भोक र तिर्खा नभनी दिनभर अस्पतालमा कुरीरहेका थिए । अस्पतालको तथ्याङ्कमा एक दिने शिविरमा १ हजार ५५ जनाले रोग परिक्षण तथा उपचार गराएका छन् । एक भन्दा बढी रोग देखाउने विरामीको संख्या थप २ सय ५० जना जति पुगेका थिए ।
मन्थली नगर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. केशवसिं धामीका अनुसार शिविरमा जनरल स्वास्थ्य, स्त्री रोग, हाडजोर्नी, शल्यक्रिया, दाँत, आँखा, नाक, कान, घाँटी, बालरोग र नशा सम्बन्धि रोगको परिक्षण तथा उपचार गरीएको थियो ।
पैसाको अभावमा काठमाडौं पुगेर उपचार गराउन नसकेका र शिविरमा समेत उपचार संभव नदेखिएका केहि विरामीलाई काठमाडौं मेडिकल कलेजमा रिफर समेत गरिएको छ । रिफर गरिएका मध्ये केहि लाई निशूल्क उपचारको व्यवस्था हुने जनाइएको छ । उनीहरु विपन्न नागरिक हुन् ।
डा. धामीका अनुसार मन्थली अस्पताललाई प्रदेश अस्पतालको रुपमा विकास गर्ने निर्णय भएपनि हाल सम्म कार्यान्वयन नभएकोले स्वास्थ्यकर्मीको दरवन्दी न्यून छ । दैनिक झण्डै २ सय विरामी पुग्ने अस्पतालमा प्राय सवै प्रकारका सेवा संचालनमा रहेका तर विशेषज्ञ सेवा संचालन हुन सकेको छैन् । नगर अस्पताल संचालन गर्नका लागि मन्थली नगरपालिकाले बर्षको ठुलो धनराशी खर्च गरिरहेको छ ।
काठमाडौं मेडिकल कलेजको सिनामंगल अस्पतालमा रामेछाप जिल्लाबाट पुग्ने विरामीले स्वास्थ्य उपचारमा लाग्ने शूल्कमा विशेष छुट पाउदै आएका थिए । उक्त अस्पतालले हालै भक्तपुरमा संचालनमा ल्याएको अस्पतालमा समेत उक्त छुट सहित रामेछापका विरामीलाई स्वास्थ्य उपचार गर्ने प्रतिवद्धता काठमाडौं मेडिकल अस्पतालले जनाएको छ ।
