काठमाडौं । टर्कीको स्तानबुल बाट आएको टर्किस एयरलाईन्सको वाईडबडी विमान सोमबार विहान काठमाडौ स्थित त्रिभुबन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा ठुलो दुर्घटनाबाट बचेको छ ।
अवतरणको क्रममा विमानको देब्रे तर्फको पाङ्ग्रा विष्पोट हुना साथ त्यसमा आगो बलेको थियो । आगो बलेकै अवस्थामा विमानलाई चालक दलले धावन मार्गमा गुडाईरहेका थिए । मुख्य धावन मार्गबाट ट्याक्सीवे तर्फ मोडिने क्रममा विमान रोकिएको थियो । त्यसपछि विमानका सबै आपतकालिन ढोकाहरु खोलेर यात्रुहरुलाई त्यहिबाट बाहिर निकालिएको थियो । यात्रुहरु सकुशल रहेका छन् । विमान भित्र २ सय ७३ यात्रु र चालक दलका सदस्यहरु रहेका थिए । विमान विहान ६ बजेर ३३ मिनेटमा अवतरण भएको थियो ।
विमानस्थलमा भएको उक्त घटना पछि काठमाडौं विमानस्थलमा आवत जावत रोकिएको थियो । केहि अन्तराष्ट्रिय उडानहरु आकाशमा कयौं बेर सम्म होल्ड गरिएका थिए । मूख्य धावन मार्ग समेतलाई अवरोध गर्ने गरी अड्किएको उक्त विमानलाई तानेर छेउ लगाएपछि झण्डै दुई घण्टा पछि अहिले विमानस्थलमा उडान र अवतरण संचालन हुन थालेको छ ।
