रामेछाप । बिहिबार मन्थली नगरपालिका ४ सालुको च्याँउकेढाँटी देखि रामेछाप नगरपालिका ३ साँघुटार सम्म पुग्दा निर्माणाधिन अवस्थामा रहेको भनिएको सेलेघाट–रामेछाप–साँघुटार सडकमा एकजना मजदुर देखिएनन् । कयौं दिन संचालन नभएर खिया लागिसकेको एउटा मेसिन देउरालीमा देखियो । पर्खाल लगाउदा लगाउदै छोडेका, माटो भर्न आधा बाँकी रहेका, ग्याबियन पर्खाल अधुरै राखिएका अनि कामै गर्न बाँकी रहेका बग्रति स्थान अलपत्र अवस्थामानै देखिए ।
ठिक पाँच बर्ष ६ महिना अघी सुरु भएको उक्त सडक तोकिएको समयमा निर्माण कार्य गरेको भए आज भन्दा ३६ महिना अघीनै सम्पूर्ण कार्य पुरा गरेर सरकारलाई बुझाउनु पर्ने थियो । सन् २०२० को नोभेम्वर महिनामा भएको संझौता बमोजिम निर्माण व्यवसायीले काम गरेको भए २०२३ को जुन महिनामा उक्त सडक चिटिक्क कालोपत्र गरेर सम्पन्न हुनुपथ्र्यो । अर्थात आयोजनाको निर्माण अवधि जम्मा ३० महिनाको मात्र थियो । तर ६६ महिना वितिसक्दा निर्माणको काम भने अझै आधाउधिँ बाँकिनै छ । यद्यपी आयोजनाको परामर्शदातृ ईन्जिनियर संजिव श्रेष्ठले भने करिव ६० प्रतिशतको हाराहारीमा प्रगति हासिल भएको दावि गरेका छन् ।

भनेको बेलामा काम नगर्ने विदेशी निर्माण व्यवसायी कम्पनी टेलिकमिनीकेशन ईण्डिया लिमिटेडले बिभिन्न बाहाना बनाएर निर्माण गर्ने संझौताको अवधि पटक पटक लम्बाईरहेको छ । लम्बाईएको अवधि आउदो असार ९ गते सकिदैछ । चौथो पटक थपिएको म्याद सकिन लाग्दा निर्माण व्यवसायि कम्पनीलाई अहिले म्याद थपका लागि दरिलो आधार फेला परेको छ – त्यो हो ईन्धनको अभाव । वाहाना त्यहि बनाएर अवको केहि दिनमा आयोजना र सरकारी अधिकारीहरुका टेबलमा फेरी म्याद थपका लागि फाईल घुम्न थाल्नेछन् । तर निर्माणस्थलमा कामदार र मेसिन औजार चाँहि घुमेको देखिने छैनन् । अहिले सम्मको नियत हेर्दा यस्तै अनुमान लगाउन सकिन्छ ।
सेलेघाट–रामेछाप–साँघुटार सडकको काम अझै आधा जस्तो बाँकीनै रहेको बेलामा स्थानीय जनप्रतिनिधि र सर्वसाधारण नागरिक भने निर्माण कार्य गर्न भन्न छोडेका छन् । अर्थात उनीहरु थाकिसकेका छन् । ‘अव हामीले काम गरिदिउँ भनेर भन्न र गर्न बाँकी केहि पनि छैन्’ देउरालीका सरोज श्रेष्ठ भन्छन् – कयौं बैठक, डेलिगेशन, छलफल, माग पत्र जस्ता कार्य भईसकेका छन् । घरको काम छोडेर सडक बनाईदेउ भन्दै नगरपालिका, प्रशासन र आयोजनामा धाउने स्थानीय बासिन्दाहरु थाकिसकेका छन् । अहिले उनीहरु अनिश्चित यात्रा गर्न विवश छन् । हिलाम्बे सडकमा निश्चित अवधिको यात्रा संभव छैन् । दिनभरी हिलोमा फसेको बस ठेल्ने देखि भोकै पाखामा विताउनु पर्ने बाध्यतामा परेकाहरु सरकारलाई धिक्कारीरहेका भेटिन्छन् । झ्यार्र पानी पर्ना साथ चिल्लिने सडकमा गुड्दा कतिबेला कान्लामुनि पुगिने हो ? भन्ने चिन्ता पनि उत्तिकै छदैछ ।
‘यो सडक अझै ५ बर्ष सम्म सकिने अवस्था देखिएन’ रामेछाप जिल्ला निर्माण व्यवसायी संघका उपाध्यक्ष कृष्ण थापामगरले भने – माटो काटेर चौडा गर्ने, फिलिङ, ग्याबियन र सिमेन्ट पर्खाल, नाला लगाएतका पूर्वाधार बन्न कयौं स्थानमा बाँकी देखियो । यी सवै काम सक्दा पनि सब बेस, बेस र कालोपत्रका लागि त्यतिनै समय लाग्छ ।

कुल ५० किलोमिटर लामो उक्त सडकको सेलेघाट देखि हुलाकडाडाँ सम्मको कालोपत्रको काम गत बर्ष पुरा भएको थियो । काम पुरा भएको स्थानमा पनि बर्षाले क्षतविच्छेद पारेको छ । हुलाकडाडाँ देखि रामेछाप बजार सम्मको भागमा अव कालोपत्र गर्ने गरी तयारी हुदै गरेको ईन्जिनियर श्रेष्ठले बताएका छन् ।
झण्डै २ अर्ब रुपैयाँको लागतमा निर्माण हुने उक्त सडकमा काम ढिलो हुदाँ लागत समेत बढ्दै गएको छ । विभिन्न काम थप गर्नुपर्ने अवस्थामा भेरिसयन लागत थपिने गरेको हो ।

अरबमा भएको युद्धका कारण ईन्धन अभाव भएका बेलामा निर्माण व्यवसायीले अव पनि कामलाई तिब्रता दिने अवस्था नरहेको श्रेष्ठ वताउछन् । पहिले आयोजनालाई भन्सार शूल्क मिनाहामा सिधै ईन्धन आउथ्यो भने अहिले उक्त सुविधा बन्द भएको छ । शूल्क बढ्नु र अभाव हुनु त छदैथियो , त्यसमाथि भन्सार सुविधा नभएपछि निर्माण व्यवसायीले मेसिन औजारका लागि ईन्धन ढुवानी गर्ने मनसाय राख्न छोडेको स्थानीय बासिन्दाले दावि गरेका छन् ।

यस विचमा समयमा काम नगर्ने विभिन्न निर्माण कार्यको ठेक्का तोडेको सूचना पाएका स्थानीयले उक्त आयोजनाको ठेक्का नतेडेको देखेर आश्चार्य मानेका छन् । कुलमान घिसिङ भौतिक पूर्वाधार तथा यातायात मन्त्री भएका बेला देशभरका कयौं आयोजनाको ठेक्का तोडेका थिए ।
