रामेछाप । नेपाली काँग्रेस जिल्ला कार्य समिति रामेछापको कार्यबाहक सभापतिको जिम्मेवारी उपसभापति नबराज थोकरले पाएका छन् । पार्टी केन्द्रीय समितिका सभापति गगनकुमार थापाले बिहिबार थोकरलाई कार्यबाहक जिल्ला सभापतिको जिम्मेवारी प्रदान गरेका हुन् ।

नेपाली काँग्रेसको रामेछाप जिल्ला सभापति पूर्णवहादुर तामाङ ( कान्छाराम ) लाई पार्टीको केन्द्रीय अनुशासन समितिले निलम्बन गरेकाले केहि दिन देखि उक्त पद रिक्त रहेको थियो ।

थाेकरलाई कार्यबाहक प्रदान गरेको पत्रमा सभापति गगनकुमार थापा आफैले हस्ताक्षर गरेका छन् । उक्त पत्रमा पार्टी जिल्ला सभापति निलम्बन परेको अवस्थामा पार्टीको १५ औं महाधिवेशनको कार्यतालिका बमोजिम पार्टीको संगठानिक गतिबिधि तथा पार्टी संरचनालाई व्यापक परिचालन गरी संगठनलाई गतिशिल, नियमित र प्रभावकारी रुपमा संचालन गर्न आवश्यक देखिएकोले तपाईलाई नेपाली काँग्रेस जिल्ला कार्य समिति रामेछापको कार्यबाहक सभापतिको हैसियतले दैनिक काम काज गर्ने जिम्मेवारी प्रदान गरिएको उल्लेख छ ।

पत्रमा पार्टीको विधान र नियमावली अनुसार पार्टीको हित चिताई दैनिक काम गर्न पनि निर्देशन समेत दिइएको छ ।