रामेछाप । अफसिजनको बेलामा सिजनको भन्दा झण्डै दोब्बर मूख्य लिनका लागि चिस्यान केन्द्र ( कुलबुट ) मा जुनार राख्ने रामेछापका किसानहरुले यस बर्ष सोचेको जस्तो फाईदा लिन सकेनन् ।
चिस्यान केन्द्रमा राखिएका जुनारलाई २४सै घण्टा एसि ( वातानुकुलक ) चलाएर चिसो बनाइरहनु पर्छ । तर चैत तिर लगातार ३ दिन रामेछाप क्षेत्रमा विजुली निभ्यो । त्यसैबेला किसानहरुको जुनार भण्डार गरेको चिस्यान केन्द्र तात्यो र जुनार विग्रीयो । विजुली जाँदा चिस्यान केन्द्रमा बैकल्पिक उर्जाको व्यवस्था नहुदाँ किसानहरुको ठुलो क्षति भएको हो ।
‘हाम्रो झण्डै १५ प्रतिशत जुनार बिग्रीयो ’ रामेछाप नगरपालिका ६ गाईटारका किसान धनवहादुर तामाङ भन्छन् – जति बचेको हो त्यसको पनि गत बर्षको जति भाउ आएन । उनले यस बर्ष साँढे ४ टन जुनार आफ्नो निजी चिस्यान केन्द्रमा राखेका थिए । उनकोमा मात्र करिव ७ सय केजि जुनार विग्रीयो । गत बर्षहरुमा शितभण्डारमा अत्यन्त कम मात्रामा जुनार विग्रने गरेको थियो ।
सितभण्डार तातिएका कारण जुनार विस्तारै कालो हुदै गयो । ‘पोहोर तिर ठक्कर लागेको जुनारमा ढुसी देखिएर विस्तारै सड्थ्यो ’ तामाङले भने – यो बर्ष ढुसी हैन् बोक्राकै रङ्ग अर्कै भयो, बोक्रा निकाल्दा खान नमिल्ने देखियो ।
तामाङको मात्र हैन् ओख्रेनीमा ६ वटा सानो क्षमताका सितभण्डार छन् । तिर सवैमा राखिएका जुनारमा यसबर्ष एकै किसिमको समस्या आएको हो । जुनार विग्रीएको प्रतिशत सालाखाला २० प्रतिशत रहेको जुनार सहकारी संस्थाका संचालक शेरवहादुर तामाङले वताए ।
जुनारको मुख्य सिजन मंसिर देखि माघ सम्म हो । त्यसबेला ओख्रेनीमा बगैंचामानै पुग्नेले प्रतिकेजि ६५ देखि ८५ रुपैयाँ सम्ममा जुनार किन्न सक्छ । तर चिस्यानकेन्द्रमा राखेको जुनारलाई अफ सिजन अर्थात यस बेलामा विक्री गर्न सक्यो भने राम्रो भाउ पाउछ । झण्डै ३ महिना चिस्यान केन्द्रमा राखेर किसानले प्रतिकेजि १ सय २५ रुपैया सम्म मूल्य लिएर केहि दिन अघी मात्र आफ्नो चिस्यान केन्द्र रित्याएका हुन् ।
गत बर्ष प्रतिकेजि १ सय ५० रुपैयाँ केजिमा विकेको जुनार यस बर्ष त्यति राम्रो भाउ नआएको किसानहरुको गुनासो छ । यसपटक बर्षाका कारण बिपी राजमार्ग बारम्बार अवरुद्ध भयो । जुन बेलामा चिस्यान केन्द्रको जुनार बाहिर निकाल्नु पर्ने थियो त्यहि बेलामा बिपी राजमार्ग नचल्दा सिन्धुलीका व्यवसायीहरु जुनार खरिदका लागि आएनन् । रामेछापको जुनार सिन्धुलीको खनियाखर्क र खुर्कोटमा विक्रीको लागि बढी मात्रामा लैजाने चलन थियो । यस बर्ष त्यति गएन । धनवहादुर तामाङ भन्छन् – ग्रडिङ नगरेको जुनार सालाखाला प्रतिकेजि १ सय २५ रुपैयाँले विक्री भयो । ‘मैले सवै जुनार बेचेँ र चिस्यान केन्द्रको सफाई गरे ’ तामाङले भने – अरु चिस्यान केन्द्रमा पनि अव जुनार बाँकी छैन् ।
जुनारको व्यवसायिक उत्पादन हुने रामेछाप नगरपालिकाको ओख्रेनी, सुकाजोर, रामपुर जस्ता क्षेत्रमा विजुली गएको बेलामा चिस्यान केन्द्र संचालन गर्नका लागि बैकल्पिक व्यवस्थाका लागि किसानले केहि बर्ष अघी देखि माग गर्दै आएका छन् । तर उनीहरुको माग संवोधन भएको छैन् ।
जुनार जोन कार्यक्रम संचालन गर्दै आएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना र रामेछाप नगरपालिकाको सहयोगमा आफ्नै घरमा स सना चिस्यान केन्द्र निर्माण गरेका किसानले केहि बर्ष देखि अफसिजनमा जुनारको फल बजारमा पठाएर राम्रो आय लिन थालेका हुन् ।
बागमति प्रदेश सरकारको सहयोगमा जिल्ला सदरमुकाम मन्थलीमा ७ बर्ष अघी निर्माण थालिएको चिस्यान केन्द्र अझै पुरा भएको छैन् । प्रदेश सरकार र मन्थली नगरपालिकाको संयुक्त लगानीमा निर्माणाधिन अवस्थामा रहेको उक्त चिस्यान केन्द्रको बाँकी काम पुरा गर्न देखापरेको अन्यौल समाधान तर्फ उन्मुख नगरिदा किसानहरुले यस प्रकारको मार खेप्नु परेको हो । मन्थलीमा निर्माणाधिन चिस्यान केन्द्र २ सय ५० टन क्षमताको अन्याधुनिक हो ।
