रामेछाप । इन्धन लगाएतका निर्माण सामाग्रिमा भइरहेको मूल्यबृद्धिका कारण निर्माण उद्योग धरासयी भएको कारण मूल्य समायोजनको माग गर्दै आएको निर्माण व्यवसायीहरुको छाता संस्था रामेछाप जिल्ला निर्माण व्यवसायी संघले बिहिबार जिल्ला प्रशासन कार्यालय रामेछापमा धर्ना दिएको छ ।
संघका बरिष्ट उपाध्यक्ष कृष्ण थापामगरको नेतृत्वमा जिल्ला प्रशासन कार्यालयमा पुगेको निर्माण व्यवसायीहरुको टोलीले सहायक प्रमुख जिल्ला अधिकारी रामवहादुर केसीलाई ज्ञापन पत्र हस्तान्तरण गर्दै कार्यालय परिसरमा धर्ना दिएको हो ।
निर्माण उद्योगमा प्रयोग हुने डिजेल, मट्टितेल, विटुमिन सहितका विविध निर्माण सामाग्रिहरुको ढुवानी खर्च तथा श्रमिक लागतमा अस्वभाविक वृद्धि हुदाँ निर्माण उद्योग ठप्प हुने अवस्थामा पुगेको सन्दर्भमा नेपाल निर्माण व्यवसायी महासंघले सबै प्रकारका ठेक्काहरुमा मूल्य समायोजन गरिदिन बारम्बार अनुरोध गर्दै आएको कुरा ज्ञापन पत्रमा उल्लेख गर्दै तर हाल सम्म समस्याको समाधान नभएको प्रति गम्भिर ध्यानाकर्षण भएको उल्लेख गरेको छ ।
संघले निर्माण व्यवसायीहरुले पुरानै दररेट र लागत अनुमानका आधारमा काम गर्न सक्ने कुनै अवस्था नरहेको, जति काम ग¥यो उति घाटामा गई आर्थिक रुपमा धराशायी हुने भएकाले अव व्यवसायीहरु कुनै पनि निर्माण कार्यमा सहभागी हुन नसक्ने कुराको अवगत पनि गराएको छ ।
संघले सरकारले समयमानै मूल्य समायोजन नगरेका कारण निर्माण कार्य ठप्प हुदाँ त्यसबाट उत्पन्न हुने सबै परिणामको जिम्मेवारी नेपाल सरकारले लिनु पर्ने कुरा समेत ज्ञापन पत्रमा उल्लेख गर्दै संघले निर्माण व्यवसायीहरुलाई यहि विचमा कालोसूचिमा राख्ने र बैंक ग्यारेण्टी जफत गर्ने जस्ता कार्यहरु नगर्न समेत अनुरोध गरेको छ । संघले ठेक्कामा अस्वभाविक लागत बढ्ने अवस्थामा निर्माण आयोजनाहरु समयमा सकिने संभावना नभएको हुदाँ बैंक ग्यारेण्टी, विमा तथा थप क्षतिपूर्ति सहित म्याद थप र बजेट व्यवस्थापनको समेत माग गरेको छ ।
