रामेछाप । रामेछाप जिल्ला अदालतमा गत आर्थिक बर्षको जिम्मेवारी सरेर आएका र चालु आर्थिक बर्षको जेठ मसान्त सम्म दर्ता भएका मुद्धाहरुको फैसला तिब्र रुपमा भइरहेको छ ।

अदालतले चालु आर्थिक बर्षमा कुल ३ सय २३ वटा मुद्धा फर्छ्याेट गर्ने लक्ष्य लिएको थियो । जेठ मसान्त सम्म उक्त लक्ष्य बमोजिम २ सय ६३ वटा मुद्धाको फछ्र्यौट भइसकेको छ । फर्छ्याेट भएको मुद्धाको प्रतिशत ८१ दशमलव ४१ प्रतिशत रहेको छ । जिल्ला अदालतले देवानी तर्फका २ सय ५ र फौजदारी तर्फका ५८ वटा मुद्धा फर्छ्याेट गरेको जनाएको छ ।

बिहिबार रामेछाप जिल्ला अदालतमा आयोजित संचारकर्मीहरु संगको अन्तरक्रिया कार्यक्रममा जिल्ला न्यायाधीश राजेन्द्र नेपालले लक्ष्य बमोजिमनै आर्थिक बर्षको अन्त्य सम्म ३ सय २३ वटा मुद्धाको फैसला सम्पन्न गर्न सकिने अवस्था रहेको वताए । 

कार्यक्रममा जिल्ला अदालत रामेछापकी निमित्त श्रेस्तेदार विमला पन्थिले जिल्ला अदालतमा रहेको मुद्धा र फर्छ्याेटको समग्र अवस्थाको बारेमा जानकारी गराएकी थिईन् ।