रामेछाप । रामेछापका नागरिकले गुणस्तरिय ईन्टरनेट सेवा पाउन कठिनाई बेहोरिरहेको बेला नेपाल टेलिकमले निर्माण थालेको महत्वाकांक्षि अप्टिकल फाईबर नेटवर्क जोडने योजना भने बर्षौ देखि अलपत्र परेको छ ।
बिपी राजमार्गको खुर्कोट देखि दोलखाको चरिकोट सम्मको उत्तर दक्षिण सडक आसपासका शहरलाई उच्च क्षमताको ईन्टरनेट सेवा प्रदान गर्ने गरी निर्माण थालिएको उक्त आयोजना विगत केहि बर्ष देखि अलपत्र छ । दुवै जिल्लामा हाल विद्युतको पोलमा टाँगेर ल्याईएको अप्टिकल केवल मार्फत ईन्टरनेट वितरण गरिएको छ ।
अप्टिकल फाईबर विच्छ्याउनका लागि सडक नाला खनेर कतिपय स्थानमा पाईप घुसाईएको छ भने कतिपय स्थानमा पाईप समेत विच्छ्याउन बाँकी छ । पाईप घुसाईएको स्थानमा तार राख्नै नपाउदै निर्माण व्यवसायी वेपत्ता भएपछि योजना अघी बढ्न सकेको छैन् ।
नेपाल टेलिकमले उक्त कार्यका लागि चीनीया निर्माण कम्पनी संग ठेक्का संझौता गरेको थियो । हाल उक्त कम्पनी टेलिकमको सम्पर्कमा नरहेको जनाइएको छ । निर्माण व्यवसायी वेपत्ता भएपछि उक्त ठेक्का तोडेर अर्को ठेक्का आव्हान गर्ने विषयमा टेलिकम मौन छ ।
चिनीया निर्माण कम्पनीले खुर्कोट देखि रामेछापको मन्थली र दोलखाको चरिकोट क्षेत्रका लागि बेग्लाबेग्लै खण्डमा काम गरेको थियो । कतिपय क्षेत्रमा कम्पनीले ल्याएर छोडेका तार र पाईपहरु अलपत्र रहेका छन् । खाडल खनेर फाईवर केवल विच्छ्याउनका लागि पेटिमा काम गरेका कतिपय स्थानीय निर्माण व्यवसायीले अझै पैसा नपाएको पनि श्रोतले उल्लेख गरेको छ ।
नेपाल टेलिकम श्रोतका अनुसार उक्त ठेक्का तोडेर अर्को ठेक्का आव्हान गर्ने या पुरानै ठेकेदारलाई म्याद थपेर काम गराउने भन्ने विषयमा अझै निर्णय हुन सकेको छैन् । त्यस बारेमा टेलिकमका अधिकांश अधिकारीहरु एकले अर्कोलाई देखाउदै जवाफदेहि बन्ने भन्दा पनि तर्कने गर्ने गरेका छन् ।
