रामेछाप । मन्थली नगरपालिका १ को हाटेचौर नजिक पर्ने बलौटे बगरमा माझी समुदायका सदस्यहरु अचेल पैसा फलाउने अभियानमा छन् । झण्डै दुई महिना अघी देखि बगरमा निरन्तर खटेका माझी समुदायका बासिन्दाले यसअघी कहिल्यै नगरेको बगर खेतिबाट आर्जन गर्ने लक्ष्य भेटाउने छन् ।

बर्षामा नदीले ल्याएर थुपारेको बालुवाको बगरमा सिसौ लगाएतका पोथ्रा पलाएका थिए । अहिले तिनै पोथ्रा फालेर माझीहरु बालुवामा पैसा फलाउन पसिना चुहाईरहेका छन् । पसिना मात्र हैन् हरेक घरकाे झण्डै २२ हजारकाे दरले खर्च पनि भइसकेकाे छ । याे अभियानमा माझिहरुलाई अहिले सम्म कसैको पनि सहयाेग मिलेकाे छैन् । 

बालुवा खोस्रेर घुसारेको खरभुजाका बेलाहरुमा बग्रेल्ति फल लागेको छ । काक्राका चिचिला रहर लाग्दा छन् । जमिन मुनी फल्ने तरुल फष्टाउदो छ भने बदामले रामै आय होला भन्ने आशा देखाएको छ । आफ्नै गोठेमल लगेर फेदमा हाल्दै माझीहरु विरुवाहरुको गोडमेलमा दिनहुँ जस्तो व्यस्त हुन थालेका छन् । केहि बर्ष देखि व्यवसायीक तरकारी खेति गरेर आर्जन गर्दै आएका स्थानीय श्यामकाजि माझीले सामुहिक खेति अभियानको नेतृत्व गरेका छन् ।

विभिन्न सामुदायिक कामका लागि बनेको हाटेचौरका अधिकांश माझीहरु रहेको जलदेवि समूहमा २२ परिवार आवद्ध छन् । उक्त समूहमा एक परिवार दलित समेत समावेश छ । अहिले बगरको सामुहिक खेतिमा समूहका सवै परिवारको मतक्वता हुन सकेन । २२ मध्ये जम्मा १३ जनाले मात्र आ आफ्नै खर्च जुटाएर सामुहिक खेति गर्ने उद्धेश्यले बगर रोजेका छन् । वस्ती नजिकैको बगरमा अचेल दैनिक जस्तो स्याहार सुसारका लागि घरको एक जना जुटिरहेका छन् । कोहि घाँस उखेल्ने, कोहि विरुवा गोड्ने अनि कोहि पानी हाल्ने काममा माझी समूदायको समय वित्न थालेको छ ।

गरिवि निवारणको कार्यक्रम मार्फत माझीहरुको आयआर्जनका लागि केहि बर्ष अघी कोषको २० लाख र माझी समूदायको २० लाख गरेर झण्डै ४० लाख रुपैयाँ लागतमा निर्माण गरेको माछा पोखरीले सोचेको जस्तो आर्जन नगरेको मात्र हैन्, गाउँमा एक प्रकारको झगडा भित्र्यायो । आर्जन पनि त्यति गरेन् । तामाकोशीको बाढीले पोखरीको केहि भाग खोलेर क्षति गरिदियो । त्यसपछि माझी समुदायको लगानी डुब्यो । बगरमा गरेको काम यस्तै हो भनेर माझीहरु मौन बर्षौ सम्म मौन बसे । पोखरी निर्माणका बेला त्यसको वरिपरी तारबार गरेको थियो । त्यहि तारबार भित्र अहिले खेति गर्न थालिएको हो ।

स्थानीय अगुवा गोरे माझीका अनुसार चैतको अन्तिम तिर सामुहिक खेतिको निर्णय सहित बगरमा झरेका माझीहरु अव पैसा भित्र्याउने अवस्थामा पुग्न थालेका छन् । ‘खरभुजा कुनै २ केजिका हुन थाले, कुनै भर्खर फल्न थालेका छन् ’ माझीले भने – अहिले सम्म सबै राम्रो देखिएको छ, कुनै मलखाद र विषाधि प्रयोग गरेका छैनौं ।

मन्थली नगरपालिकाका एकजनाले माझीहरुलाई उक्त तारबार भित्रको जमिनको प्रयोग गर्न बारम्बार सुझाएपछि उनीहरु अहिलेको निर्णयमा पुगेका हुन् । ‘गर्ने भए तिमिहरु गर, हैन भने नगरपालिकाले केहि गर्छ भनेर हामीलाई नगरपालिकाले भन्यो’ माझी भन्छन् – हाम्रो त्यति धेरै लगानी डुबेको ठाउँमा केहि हुन्छ भने हामीनै गरौं न त भनेर अहिलेको काम थालेका हौं । उनले सामुहिक लगानीको खेति सप्रिएर आम्दानी दिए, खेतिलाई निरन्तरता दिने समेत बताए ।