रामेछाप । खानेपानी जस्तो संवेदनसिल क्षेत्रमा नेपाल विद्युत प्राधिकरणले अमानविय व्यवहार देखाएर विद्युत लाईन काटेपछि सुख्खा क्षेत्रमा वसोवास गर्ने रामेछापको खाँडादेवि गाउँपालिका भिरपानीका बासिन्दाले २२ दिन देखि पानी खान सास्ती वेहोर्नु परेको छ ।
भिरपानी, पकरबास र माकादुमका ५ सय ६६ परिवारमा वितरण भएको पम्पिङ योजनामा जडान भएको विद्युत लाईन जेठ ११ गते काटेपछि त्यस क्षेत्रमा खानेपानीको हाहाकार छ । विद्युत महसुल नतिरेको भन्दै कुनै सूचना समेत नदिई प्राधिकरणले लाईन काटेकोले पानी संकट आईपरेको स्थानीयको भनाई छ ।
भिरपानी पकरवास स्किम २ खानेपानी योजना उपभोक्ता समितिका अध्यक्ष कृष्णवहादुर श्रेष्ठका अनुसार केहि दिन पछि पैसा उठाएर महशुल भुक्तानी गर्छौं , खानेपानी खान विद्युत जोडिदिनुस भन्दा प्राधिकरणका प्रमुखले अटेर गरिरहेका छन् । असुल हुन बाँकी रकम जम्मा गरेपछि मात्र लाईन जोड्ने भन्दै पानी जस्तो मानव जिवन संग जोडिएको विषयमा प्राधिकरणले खेलबाड गरेको तीन साता देखि पानीको संकट बेहोरिरहेका स्थानीयको गुनासो छ ।
घरमा रहेको धारामा पानी झर्न बन्द भएपछि स्थानीयहरुलाई पानीको संकट चुलिएको छ । स्थानीय टोलहरु लाक्पा, भलायाखर्क लगाएतका गाउँमा वसोवास गर्नेले पानीको चरम अभाव भोगिरहेका खाँडादेवि ३ का वडाअध्यक्ष पुष्कर कार्कीले वताएका छन् । गर्मीको बेलामा दैनिक पानीको खपत धेरै हुने तर यहि बेलामा धारामा पानी नआएपछि स्थानीय बासिन्दालाई खान, भान्सा चलाउन, नुहाउन, लुगाधुन र घरपालुवा पशुचौपायलाई पानी दिन समस्या बेहोर्नुपरेको हो । दिनभरीमा भागमा आउने ४ गाग्री पानीले गुजारा चलाएको स्थानीयको गुनासो छ ।
भिरपानी, पकरवास र माकादुमका ग्रामिण वस्तीमा साविकका अधिकांश परम्परा खानेपानीका मुल सुके पछि सुनकोशी नदी किनारमा ईनार बनाई विद्युतको माध्यमबाट लिफ्ट गरेर केहि बर्ष अघी देखि खानेपानी वितरण गर्न थालिएको थियो । उक्त योजनाका विभिन्न स्थानमा निर्माण भएका टंकीमा विद्युत मोटर जडान गरी डाडाँमा पानी लैजानु पर्ने भएकाले पानी तान्ने प्रयोजनका लागि लाखौं रुपैयाँ विद्युत महशुल तिर्नुपर्ने बाध्यता उपभोक्तालाई छ ।
समितिका अध्यक्ष श्रेष्ठका अनुसार अहिले प्राधिकरणमा झण्डै ५ लाख रुपैयाँ महशुल बुझाउन बाँकी छ । विगतमा केन्द्र प्रमुखले ५० लाख बक्यौता रहदा सम्म खानेपानी जस्तो संवेदनसिल विषय भएकाले लाईन काटेका थिएनन् । उपभोक्ता र पालिकाले समय समयमा महशुल भुक्तानी गर्दै स्थानीयको धारामा पानी पु¥याएका थिए ।
प्राधिकरणले यसअघी पनि उक्त योजनाको नाममा जडान भएको विद्युत लाईन काटेको थियो । त्यसबेलामा स्थानीयहरुको माग बमोजिम खाँडादेवि गाउँपालिकाले विद्युत महशुल भुक्तानी गरिदिएपछि प्राधिकरणले पूर्ववत अवस्थामा लाइन जोडिदिएको थियो । यो पटक पनि प्राधिकरणको अडान पैसा आएपछि मात्र लाईन जोड्ने रहेको छ ।
उपभोक्ता समितिले ५ सय ६६ वटा धारा वितरण गरेपनि गाउँमा पानीको उपयोग गरि वसोवास गर्ने परिवारको संख्या न्यून भएकाले मासिक उठेको पानीको महसुलले विद्युतको विल तिर्न नसकेको पूर्व अध्यक्ष नेत्रवहादुर केसी वताउछन् । धेरैका घरमा धारा छन् तर उनीहरु काठमाडौ तिर वस्ने भएकाले पानीको महसुल तिर्दैनन् ।
