रामेछाप । विश्वको सर्बोच्च शिखर सगरमाथा आरोहि धानुकुमार श्रेष्ठलाई बिहिबार रामेछापको दुई बेग्ला बेग्लै कार्यक्रममा सम्मान गरिएको छ । मन्थली १ निवासी आरोहि श्रेष्ठलाई मन्थली नगरपालिका १ नम्बर वडाले सम्मान गरेको छ । वडा अध्यक्ष होमप्रसाद पौडेल (रामहरी)ले श्रेष्ठलाई सम्मान गरेका हुन् ।
त्यसैगरी ब्रम्हाकुमारी राजयोग सेवा केन्द्र मन्थलीले पनि बिहिबारनै सगरमाथा आरोहि श्रेष्ठलाई सम्मान गरेको छ । ब्रम्हाकुमारी विष्णु बहिनीले सम्मान गरेकी थिईन् । आरोहि श्रेष्ठलाई उनको जन्मथलो मन्थलीमा एक साता देखि विभिन्न कार्यक्रममा सम्मान हुदै आएको छ । मन्थली १ बाट सगरमाथा आरोरण गर्ने उनी पहिलो आरोहि हुन् ।
२५ बर्षिय धानुकुमार श्रेष्ठले जेठ ७ गते सगरमाथाको सफल आरोहण गरेका थिए । उनले अघील्लो बर्ष पनि सगरमाथाको आरोहण गर्ने प्रयास गरेको भएपनि तेश्रो आधारशिविर पुगेर आरोहण अभियान त्यागेका थिए । यस बर्ष उनले लुबुचे हिमालको पनि सफल आरोहण गरेका थिए । उनले गरेको लुबुचे आरोहण यो समेत तेश्रो पटक हो । युरोपको सर्बोच्च शिखर रुसको माउण्ट एलब्रसको समेत उनले सफल आरोहण गरिसकेका छन् । श्रेष्ठ पर्वतारोहण क्षेत्रमा गाईड र फोटोग्राफि तथा भिडियो निर्माण गर्ने काममा समेत सम्लग्न रहदै आएका छन् ।
