रामेछाप । विश्वको सर्बोच्च शिखर सगरमाथाको सफल आरोहण गरी फर्केका मन्थली नगरपालिका १ निवासी धानुकुमार श्रेष्ठलाई आईतबार मन्थली नगरपालिकाले सम्मान गरेको छ ।
नगरपालिकामा आयोजित कार्यक्रममा नगरप्रमुख लब श्रेष्ठले धानुकुमारलाई सम्मान गरेका हुन् । श्रेष्ठलाई शनिबार मन्थलीमा नेवार समुदायका विभिन्न संस्थाहरु र स्थानीय बासिन्दाले सम्मान गरेका थिए । कार्यक्रममा आरोहिका साथ उनका माता मिङ्मा शेर्पा श्रेष्ठ र पिता टंककुमार श्रेष्ठलाई समेत सम्मान गरिएको थियो ।
पर्यटन विषयमा स्नातक गरेका श्रेष्ठले २०८३ साल जेठ ७ गते दिउँसो १ बजे विश्वको सर्बोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका थिए । उनी बेलायतको पर्वतारोहण टोलीमा समावेश भई चैत २६ गते सगरमाथा आधारशिविर तर्फ गएका थिए ।

सम्मान कार्यक्रममा आरोहि श्रेष्ठले सगरमाथा चढ्ने कुरा सजिलो नभएको बताए । आफुले सगरमाथा चढने कुरा कुनै ईच्छा र योजना नहुदाँ नहुदै पनि गरेको वताए । सानै देखि चुलबुले स्वभावको भएकाले विभिन्न जोखिमयुक्त खेलकुदमा भाग लिने गरेका श्रेष्ठ पछिल्ला ८ बर्ष देखि पर्वतारोहण गाईडको रुपमा काम गर्दै आएका छन् । उनले त्यस क्रममा हिमाल र आसपासको क्षेत्रको फोटो, भिडियो खिचेर बृत्तचित्र निर्माण समेत गरेका छन् ।

गत बर्ष सर्बोच्च शिखर चढ्ने योजनाका साथ सगरमाथा क्षेत्रमा गएका उनले तेश्रो आधारशिविर बाट आरोहण परित्याग गर्नुपरेको थियो । उनले यो बर्ष दोश्रो प्रयासमा सफलता पाएका हुन् । उनले आउदा दिनमा हिमाल आराेहणलाई जारी राख्ने वताएका छन् ।
नेपालका विभिन्न क्षेत्रमा रहेका ६ हजार भन्दा माथिको उचाईमा पर्ने विभिन्न हिमचुचुरामा पाईला राखिसकेका उनले लुबुचे हिमालको समेत ३ पटक आरोहण गरेका छन् । २५ बर्षिय श्रेष्ठले युरोप महादेशको सर्बोच्च शिखर रुसको माउण्ट एलब्रसको समेत सफलतापूर्वक आरोहण गरेका छन् ।
