रामेछाप । घरको छतमा लगाएको अंगुर बाट १ बर्षमानै मनग्यै आर्जन ! धेरैले यो कुरा पत्याउदैनन् । तर रामेछापको मन्थली १ का उद्यमी श्याम सुबेदीले यस बर्ष आफ्नो घरको छतमा फलेको अंगुरबाट धेरै पैसा आर्जन गरे , सत्य यहि हो ।
छतमा सानो क्यारी बनाएर रोपेका अंगुरका विरुवाले यसरी उत्पादन दियो कि , त्यहाँ पुग्ने जो सुकै अचम्मित बने । झण्डै २ सय आगन्तुकहरुले यो बर्ष उनको घरको छतमा पुगेर अंगुर कर्मको प्रत्यक्ष अवलोकन गरे, आफ्नै हातले टिपेर पेटभरी अंगुर खाए, अनि किनेर घर पनि लगे ।
छतको क्यारीमा झण्डै डेढ फिट मल माटोमा रोपेको विरुवालाई सुबेदीले फलामे एङ्गल मार्फत त्यसमाथि टाँगिएको जिआई तारमा फष्टाउन दिएका छन् । त्यहि जिआई तारबाट झुलेका लोभलाग्दा अंगुरको झुत्ताहरुले यो बर्ष उनलाई चर्चाको शिखरमा पु¥याएको छ । कृषि विज्ञ देखि सर्वसाधारण सम्मले उनलाई सोधि रहेका छन् – कसरी भयो यस्तो ? ।

झण्डै ५ बर्ष अघी उनले एउटा विरुवा रोपेका थिए । उक्त विरुवा बाट ग्राफ्टिङ गर्दै अरु विरुवा निकाले र छतको क्यारीमा घुसारे । अहिले ति विरुवाले फल दिएका छन् । छतमा रहेका अंगुर मध्ये ४ बोटमा राम्रो फल लागेको छ । अरुमा पनि फल त छ, तर थोरै । ‘यस बर्ष झण्डै ४ क्वीन्टल अंगुर फलेको थियो, झ्यार्रझ्यार्र पानी परिरहेको थियो, पानी परिरहेकोले केहि दिन म छतमा विरुवामा पानी हाल्न निस्कीईन्, तर विरुवालाई पुग्ने पानी परेनछ, बेलामा चाहिने जति पानी नपाउदा अंगुर चाउरिएर विग्रीएछ । करिव १ क्वीन्टल जति अंगुर आफ्नै गल्तिले विग्रीयो ’ सुवेदीले भने – ३ क्वीन्टल अंगुर राम्रो भयो । उक्त ३ क्वीन्टल अंगुुर ४ बोटमा फलेको हो ।
सुवेदीले घरमा अंगुर हेर्न आउनेलाई खान दिए । आसपासका र आफन्तलाई कोशेली बाँडे । त्यति गर्दा पनि झण्डै १ हजार ५ सय केजि अंगुर विक्री गरे । प्रति केजि ३ सय रुपैयाँले उनले अंगुर विक्री गरेका छन् । त्यसबाट मात्र राम्राे नगद भित्रीएको छ । केहि दिन अंगुरमा पानी हाल्नका लागि अल्छि नगरेको भए यस बर्ष उनले थप कमाउन सक्थे 
गत बर्ष पनि उनको झाँङमा झण्डै १ हजार केजि अंगुर फलेको थियो । उक्त अंगुर उनले विक्री गरेनन् , चाख्न र कोशेलीकोे रुपमा बाँडेर सके । बुधबार मात्र उनले छतमा यस बर्ष फलेको अंगुरको झुत्ता करिव करिव मैजारो गरेका छन् ।
सुवेदीलाई आफुले हुर्काएको र लाखौं आर्जन गर्न सघाएको अंगुरको नाम थाहा छैन् । ‘सुरुमा विरुवा दिनेले पुरानो जात हो, मिठो र रसिलो हुन्छ भनेका थिए, अहिले फल त्यस्तै छ,’ सुवेदी भन्छन् – मलाई नाम थाहा छैन्, गुलियो र रसिलो छ , भित्र दाना छैन् ।

अंगुरबाट राम्रो फल लागेको र बढी भन्दा बढीले रुचाएपछि उनी अंगुर खेतिमा हौसिएका छन् । छत बाहेक पनि उनले आफ्नो जग्गामा थप विरुवा लगाएका छन् । ‘अरु ९ वटा बोट थपेको छु, तिनीहरु अर्को बर्ष देखि फल्छन्’ सुवेदीले भने । विरुवा उनले आफै ग्राफ्टिङ गरेर बनाउछन् । सुवेदीले आगामी बर्ष २ हजार अंगुरको विरुवा ग्राफ्टिङ गर्ने योजना बनाएका छन् । उक्त विरुवाहरु विक्री नगरी दलित र पछि परेका समुदायको आयआर्जनका लागि वितरण गर्ने उनको मन छ ।
झण्डै एक दशक देखि शिक्षा क्षेत्रमा बार्षिक लाखौं रुपैयाँ छात्रवृतिका खातिर खर्च गर्दै आएका उनले यस बर्ष अंगुर विक्री गरेर आर्जन गरेको रकम पनि त्यहि क्षेत्रमानै खर्चिने वताएका छन् । उनी झण्डै बार्षिक १० लाख रुपैयाँ छात्रवृति बापत गरिव, दलित र जेहेन्दार विद्यार्थीहरुलाई खर्चन्छन् ।
