रामेछाप । विद्युत आयोजनको शेयर, सामाजिक उत्तरदायित्वको खर्चको पारदर्शिता लगाएतका माग राखि आन्दोलनमा उत्रिएका प्रभावित क्षेत्रका बासिन्दाले लिखु नदीमा संचालनमा रहेका दुई वटा विद्युत आयोजनाको पानी नदीमा फर्काएर उत्पादन बन्द गरिदिएका छन् ।

दुगड समूहको लगानीमा रामेछाप र सोलु जिल्लाको सिमा भएर बग्ने लिखु नदीको पानी प्रयोग गरी संचालन भएको ७७ मेघावाट क्षमताको लिखु १ जलविद्युत आयोजना र ५५ मेघावाट क्षमताको लिखु २ जलविद्युत आयोजनाको टवाईनमा जाने पानी बन्द गरेर नदीमा बगाइएको छ । लिखु १ सोमबार राती साँढे १० बजे देखि वन्द छ भने लिखु २ मंगलबार विहान ९ बजे देखि वन्द गरिएको छ ।

लगातार नौ दिन देखि आन्दोलनरत प्रभावित क्षेत्रका बासिन्दाले आयोजनाका उच्च अधिकारी संग आयोजना स्थलमानै वार्ता गर्ने माग राखेका थिए । आन्दोलन सुरु भएको आठौं दिन सोमबार आयोजनाको तर्फबाट राजु खड्का र धिरज वस्नेतलाई प्रतिनिधि तोकेर आन्दोलनरत पक्ष संग वार्ताका लागि पठाइएको थियो । तर वार्ताको शुरु मागमै सहमति नजुटेपछि वार्ता भंग भएको थियो ।

वार्ता भंग भएपछि स्थानीयले उत्पादन गृहको टवाईनमा झर्ने पानी सोमबार करिव साँझ ५ बजे बन्द गरिदिएका थिए । तर राति साँढे ९ बजे फेरी आयोजनाले पानी खोलेर विजुली निकालेको थाहा पाएपछि पुगेका आन्दोलनकारीले त्याहाँ रहने आयोजनाका सुरक्षागार्डलाई समेत नियन्त्रणमा लिई पानी बन्द गर्न लगाएर आयोजनामा बुझाईदिनुका साथै  पानी लिखुमा फर्काएर उत्पादन बन्द गरिदिएका थिए । त्यसपछि फेरी उत्पादनगृह खोलेर संचालन गर्न आँट आयोजनाले गरेको छैन् । लिखुको पानी लिखुमै बगिरहेको छ । दुवै आयोजनाको विद्युत उत्पादन गृहमा झण्डै दुई सय स्थानीयले रातदिन धर्ना दिइरहेका छन् ।

दुगड समूहले लिखु नदीको पानी प्रयोग गरी ३ वटा जलविद्युत आयोजनाबाट केहि बर्ष देखि व्यवसायीक विद्युत उत्पादन गर्दै आएको छ । सवैभन्दा सानो २९ मेघावाटको लिखु ए जलविद्युत आयोजनाको शेयर निष्काशन गरेको भएपनि उक्त समूहले स्थानीयको माग अनुसार आईपिओ निष्काशन गरेको छैन् । स्थानीय माधव वस्नेतका अनुसार प्रिमियम शेयर निष्काशन गरेर स्थानीयलाई सोहि शेयर दिने कुरा वार्तामा आएका प्रतिनिधिले वताएका थिए । तर उक्त शेयर स्थानीयले अस्विकार गरिदिए । प्रतिकित्ता १ सय बराबरको आईपिओ शेयर खोजिरहेका स्थानीयले सबैभन्दा सानो आयोजनामा त्यो पनि प्रिमियम शेयर खरिद गर्ने शर्त ठाडै अस्विकार गरेपछि सोमबार भाँडिएको वार्ता मंगलबार साँझ सम्म फेरी हुने तरखर समेत छैन् । प्रिमियम शेयर प्रतिकित्ता २ सय १८ रुपैयाँ भन्दा बढी रहेको जनाइएको छ । स्थानीयले ७७ मेघावाटको लिखु १ र ५५ मेघावाटको लिखु २ को समेत गरी तीनवटै आयोजनाको आईपिओ शेयर पाउनु पर्ने माग जारी राखेका छन् ।

आयोजना निर्माण चरण देखि स्थानीको माग लत्याउदै आएको लगानीकर्ता समूहले सामाजिक उत्तरदायित्व अन्तरगतको काम कुन स्थानमा र कति रकममा गरेको भन्ने कुराको विस्तृत विवरण समेत हाल सम्म सार्वजनिक गरेको छैन् । स्थानीय राजेन्द्र घिमिरेका अनुसार पालिकाले गरेको भन्ने काम हामीले गरेको भन्ने तर्क आयोजनाको छ । एकै आयोजनामा दुईटा लगानी गरेको थाहा पाएपछि स्थानीयले दोहोरोपनको खोजि समेत थालेका छन् । पालिका या आयोजना कुन निकायको रकम खर्च भएको भन्ने कुरा पत्ता लगाएपछि कानुनी कारवाहिको बाटोमा जाने सुरसार उनीहरुको छ । तर पालिका भन्दा पनि आयोजनाले छलछाम गर्दै आएकोले त्यसले भनेको कुरामा सत्यता नभएको तर्क गर्नेहरु प्रसस्त छन् ।

विद्युत उत्पादनका लागि प्रयोग हुने पानी हिउँदका बेलामा सुक्ने भएकाले स्थानीय ठाडो खोला खोल्सीहरुमा रहेको स्थानीयले खानेपानीका लागि प्रयोग गर्ने पानी समेत पाईपमा लगेर आयोजनाको सुरुङमा हाल्ने गरेको आयोजना स्थानीयको कुनै पनि माग प्रति संवेदनशिल नभएको स्थानीयको गुनासो छ ।

आयोजना निर्माण चरणमानै प्रभावित क्षेत्रका बासिन्दालाई बोर्डिङ स्कुल, एमबिबिएस डाक्टर सहितको अस्पताल, सामाजिक उत्तरदायित्वका विभिन्न कार्यहरु गर्ने आश्वासन बाँडेको आयोजनाले व्यवसायिक विद्युत उत्पादन थालेको बर्षौ वित्दा पनि उक्त आश्वासन पुरा नगरेकोमा स्थानीय रुष्ट छन् । कति सम्म भने स्थानियका लागि  िवजुलीकाे सेवा  समेत दिइएकाे छैन् । 

रामेछापको उमाकुण्ड गाउँपाकिलामा दुई पटक नेतृत्व गरेका पालिका अध्यक्ष शेरवहादुर सुनुवारले गुगड समूहले स्थानीय र पालिकाले पटक पटक गरेका विभिन्न मागहरु लाई संवोधन गर्न वेवास्ता गरेको भन्दै आन्दोलनको पक्षमा ऐक्यवद्धता प्रकट गरी विज्ञप्तिनै जारी गरेका छन् ।

रामेछापको उमाकुण्ड १ का गेल्बु शेर्पाको संयोजकत्वमा गठन भएको संघर्ष समितिले थालेको आन्दोलनमा सोलुको लिखु पिके गाउँपालिका र रामेछापको उमाकुण्ड गाउँपालिका गरि दुवै तर्फका प्रभावितहरुको सहभागिता रहेको छ । आन्दोलनका विभिन्न चरणहरु पार गरिसकेको तर आयोजनाका उपल्ला अधिकारीहरुले अझै झारा टार्ने काम गरेकोले आन्दोलनका थप कार्यक्रम ल्याउने चेतावनी स्थानीयको छ ।

आयोजनाको उत्पादन गृहहरु र सम्पर्क कार्यालयमा विरोध र नाराबाजी हुन थालेपछि दुवै जिल्लाले सुरक्षाकर्मीको तैनाथि बढाएको छ । तर हाल सम्म सुरक्षाकर्मी संग छिनाझप्टिको घटना भने भएको छैन् । स्थानीयहरुले विगतका आन्दोलनहरु तुहाउन कहिले काठमाडौं त कहिले रामेछापको मन्थलीमा वार्ता भएको भनेर झुक्याउदै आएकोमा अहिले भने आयोजनास्थलमानै वार्ता हुुनु पर्नेमा‚ जोड दिदै आएको छन् ।