रामेछाप । बजारमा ईन्धनको मूल्य उच्च रहेको तर सरकारले निर्माण व्यवसायीले माग गरे बमोजिम मूल्य समायोजन नदिदा रामेछापमा संचालन रहेका विभिन्न विकास निर्माणका योजनाहरु अलपत्र पर्न थालेका छन् ।

ठेक्का हालेको बेलामा भन्दा ईन्धनको बजार मूल्य झण्डै दोब्बर हुदाँ खासगरी सडक स्तोरन्नती र कालोपत्र गर्ने योजना प्रभावित बनेका छन् । निर्माण व्यवसायीले बढेकै मोलमा ईन्धन किनेर भएपनि सडक चौडा पार्ने र अन्य पुर्वाधार निर्माणको काम गरेका छन् तर सडकमा बेस र कालोपत्र गर्ने काम अधिकांश स्थानमा रोकिएको अवस्था छ ।

सरकारको उच्च प्राथमिकतामा परेको लिखु तामाकोशी गाउँपालिकाको केन्द्र धोवि जोड्ने सडकको झण्डै ६ किलोमिटर खण्डमा यस बर्ष कालोपत्रे गर्ने योजना थियो । तर निर्माण व्यवसायीले पूर्वाधारको काम सकेर बाँकी काम छोडेका छन् । ‘ईन्धनको भाउ दोब्बर भएकाले विटुमिन, डिजेल र मट्टीतेल खरिद गर्न सक्ने अवस्था छैन् ’ निर्माण व्यवसायी विनोद बुढाथोकीले भने – सरकारले ईन्धनमा मूल्य समायोजन नदिदाँ काम रोक्नुको विकल्प भएन । ईन्धनको मूल्य समायोजन दिएको भए उनले तोकिएको समय अगावै कालोपत्र काम सक्ने गरी निर्माणको कामलाई तिव्रता दिएका थिए ।

सरकारले ईन्धनमा भएको मूल्यवृद्धि योजनाको लागतमा समायोजन नगर्दा योजनाको काम मात्र रोकिएको छैन्, सरकारको लक्ष्य अनुसार बजेट खर्चमा समेत प्रगति पुग्ने अवस्था छैन् । नेपााली काँग्रेसका नेता कृष्णवहादुर महत भन्छन् – बजेट खर्च नहुँदा आगामी बर्षका लागि थप रकम व्यवस्था हुन सक्ने अवस्था समेत हुदैन । ‘यो बर्ष बिनीयोजन भएको बजेट खर्च गर्न सकेको भए आगामी बर्ष धोवि सम्म कालोपत्र सडक निर्माण पुरा हुन्थ्यो ’ महतले भने – तर सकिएन ।

लिखु तामाकोशी गाउँपालिकाकै खिम्ती बाट विर्ता गैरी तर्फ जाने दुई वटा सडक भने निर्माण व्यवसायीले यस बर्ष कालोपत्र र ढलान सकेका छन् । ‘ईन्धनको भाउ बढ्ने सूचना पाउना साथ झण्डै ४० लाखको ईन्धन खरिद गरेकोले उक्त कार्य सम्भव भएको हो ’ निर्माण व्यवसायी शंकर थापा भन्छन् – इन्धनको भाउ उच्च भएपछि पनि रामेछापमा कालोपत्र र ढलान भएको कार्य संभवत खिम्तीमा मात्र होला ।

खिम्तीमा कालोपत्र सकेका तिनै निर्माण व्यवसायी शंकर थापाले रामेछाप नगरपालिकाको रामपुरमा सघन शहरी तथा भवन निर्माण आयोजना रामेछाप मार्फत ३ करोडको लागतमा सडक स्तरोन्नतिको काम धमाधम गर्दैछन् । स्ट्रक्चरको काम लगभग पुरा गरेपनि थापाले उक्त सडक कालोपत्र गर्न सक्ने कामलाई चाँहि थाति राख्ने वताए । ‘मूल्य समायोजन दिदैन्, बढेको भाउमा तेल किनेर कालोपत्र गर्न सकिदैन ’ थापा भन्छन् – यस बर्ष सव–बेस गरेर त्यतिकै छोड्ने विचार गरेको छु । रामपुरमै रामेछाप नगरपालिकाले प्रदेश सरकार संगको सहकार्यमा थालेको च्यास्कु खानिडाडाँको सडक समेत केहि महिना अघी सव–वेस सकेर अरु काम छोडिएको अवस्थामा छ ।

रामेछाप जिल्ला निर्माण व्यवसायी संघका कार्यबाहक अध्यक्ष कृष्ण थापामगरले ईन्धनको मूल्य वृद्धि पछि महासंघले सरकार समक्ष पटक पटक ध्यानाकर्षण गराएर मूल्य समायोजनको माग गरेपनि सरकारले बेवास्ता गरेको वताए । सरकारी उदासिनताले स्थानीयले विकास निर्माणको काम बाट सुविधा प्रात्त गर्न ढिलाई भएको, सरकारी बजेट खर्च हुन नसक्दा लक्ष्य अनुसार प्रगति हुन नसक्ने परिस्थिति बनेको र निर्माण व्यवसायीले एउटै योजनामा बर्षौ सम्म अल्झिनु पर्ने बाध्यता आईपरेको वताए । रामेछाप जिल्लामा मात्र यस बर्ष एक दर्जन भन्दा बढी योजना कालोपत्रका लागि तयार हुदै थिए । ति कुनैमा पनि कालोपत्र गरिहाल्ने अवस्था अहिले नभएको थापामगरले वताए ।

पूर्वाधार विकास कार्यालय रामेछापका ईन्जिनियर एवं प्रबक्ता दोर्ण चौधरीले सरकारले बढेको इन्धनको भाउ बमोजिम भुक्तानी दिने गरी नयाँ व्यवस्था नगरेको वताए । नेपाल राष्ट्र बैंकले जारी गर्ने ईन्डेक्स बमोजिम निर्माण व्यवसायीले माग गरेको बेलामा कार्यालयले त्यसलाई हेरेर भुक्तानी गर्न सक्ने भन्दै चौधरीले अध्याधिक रुपमा बढेको डिजेल, मट्टीतेल र बिटुमिनको भाउ उक्त ईन्डेक्समा पर्ने मूल्य भन्दा धेरै हुन जाने भएकाले निर्माण व्यवसायीहरुले कालोपत्रको काम गर्न नसक्ने जनाएको वताए । चौधरीका अनुसार कालोपत्र बाहेकका ढलान लगाएका पूर्वाधारको काम भने विभिन्न साईटमा जारी रहेको छ ।