काठमाडौं । लामो समय देखि राजनीतिक दुष्चक्रमा फसेको नेपाल रेडक्रस सोसाईटीको निर्वाचन फेरी स्थगित भएको छ । काठमाडौं जिल्ला प्रशासन कार्यालयले रेडक्रसका सबै तहका निर्वाचन रोक्नका लागि निर्देशन जारी गरेको हो । काठमाडौं प्रशासनले सोमबार सो सम्बन्धि पत्र रेडक्रस केन्द्रीय सभापतिलाई पठाएको छ ।
रेडक्रसको संशोधित विधान अनुसार संघीय संरचना बमोजिम स्थानीय तह देखि केन्दीय समिति सम्मको निर्वाचनका मिति तय भईसकेको थियो । निर्वाचन कार्यक्रम अनुसार जेठ ४ गते पालिका स्तरमा, जेठ १५ गते जिल्ला स्तरमा, असार २ गते प्रदेश स्तरमा र असारको २४ र २५ गते केन्द्रीय तहमा निर्बाचन गर्ने गरी रेडक्रसले तयारी गरेको थियो ।
युद्धमा घाईते भएका मानवहरुको उद्धार र सेवा गर्ने मानविय भावनाले स्थापना भएको रेडक्रसको पवित्र उद्धेश्य भएपनि पछिल्ला बर्षहरुमा नेपालमा रेडक्रसको नाममा चरम राजनिति हुदै गएको थियो । रेडक्रसको सदस्यता खुला भएपनि पदाधिकारीहरुले त्यसलाई नियन्त्रण गर्ने र आफ्नालाई मात्र वितरण गर्ने गर्दै संस्थालाई बदनाम बनाएका थिए । राहत, उद्धार र अन्तराष्ट्रिय सहयोगी संस्थाहरुको सहयोगमा संचालित परियोजनाहरुमा समेत बदनियत हुन थालेपछि अन्तराष्ट्रिय रेडक्रसले समेत नेपाल रेडक्रसलाई निलम्बन गरेको थियो ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारीले रेडक्रसलाई पठाएको पत्रमा रेडक्रस जस्तो पवित्र संस्थामा विगतमा देखिएका अमर्यादित गतिविधिलाई निर्मूल पार्न, रुपान्तरण र पुस्तान्तरण गर्न, खुला सदस्यता आव्हान गर्न तथा परिवर्तित अवस्थामा विधानमा यथोचित संशोधन समेत गर्नका लागि तोकिएको निर्वाचन स्थगित गर्न भनिएको छ । नेपाल रेडक्रस सोसाईटी जिल्ला प्रशासन कार्यालयमा दर्ता भई नेपालभर शाखा रहने गरी स्थापित गैरसरकारी संस्था हो ।
