काभ्रे । बर्षाको बेलामा प्रहरीले दिएको सूचना बेवास्ता गरी बिपी राजमार्गमा यात्रु बोकेर गुड्ने सार्र्बजनिक सवारी साधनका चालकहरु पक्राउ पर्न थालेका छन् ।
सोमबार प्रहरीले भन्दाभन्दै अटेर गरी उक्त राजमार्गमा यात्रामा निस्केका ५ वटा सवारी साधनका चालकलाई प्रहरीले पक्राउ गरी काभ्रे प्रहरीको हिरासतमा राखेको छ ।

उनीहरु माथि सार्वजनिक सवारी साधनमा यात्रा गर्ने यात्रुको ज्यान जोखिममा पार्ने गरी लापरबाहिपूर्वक सवारी चलाएकोे आरोप लागेको छ । सोमबार रोशी खोलाको शिरमा पानी पर्न थालेपछि विहानै देखि प्रहरीले सवारी साधन होल्ड गराएको थियो । तर त्यसलाई वेवास्ता गर्दै राजमार्गको रोशी खोला खण्डमा प्रवेश गरेका सार्वजनिक यातायातका साधन मध्ये ५ वटा हाईस रोशीको बाढीको विचमा परेका थिए ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार उक्त सवारी साधनमा रहेका यात्रुहरुलाई शसस्त्र र नेपाली सेनाको समेत मद्धत लिएर राति १ बजे सुरक्षित स्थानमा लगिएको थियो । खोलामा दुवै तिर बाढी आएपछि बिचमा अड्किएका सवारी साधन र यात्रुलाई डोरी र जेसिभीको सहयोगले सुरक्षित स्थानमा सारिएको थियो ।

काभ्रे प्रहरीले भकुण्डे र धुलिखेल तथा सिन्धुली प्रहरीले नेपालथोक र खुर्कोटमा सोमबार दिनभर सवारी साधन होल्डमा राखेका थिए । सो क्रममा यात्रुहरु र प्रहरी विच भनाभन समेत भएको थियो । चर्को घाम लागिरहेको बेलामा पनि प्रहरीले आवागमन रोकेको भन्दै अधिकांशले रोश पोखेका थिए । तर प्रहरीले रोशीको सिरमा धेरै बर्षा भएकाले खोलाको बाटो भएर साधनलाई गुड्न नदिने अडान राखेको थियो । नभन्दै रोशीमा ठुलो बाढी आएको थियो ।