रामेछाप । रामेछाप जोड्नका लागि बिहिबार एकै साथ ३ वटा पक्कि पुलको ठेक्का आव्हान भएको छ । डिभिजन सडक कार्यालय खाल्टे सिन्धुलीले उक्त ठेक्का आव्हान गरेको हो ।
ठेक्का आव्हान भएका तीन मध्ये खुर्कोट र खैरेनीघाट पुल पुननिर्माण हुन थालेका हुन् । २०८० साल असोजको बाढीले खुर्कोट र खैरेनीघाटमा निर्माण भएका मोटरेवल पुल बगाएको थियो । अहिले साविकमा पुल रहेको स्थान या आसपासमा पुल निर्माण गर्ने गरी ठेक्का आव्हान भएको हो । तेश्रो पुल चाँहि काभ्रे र रामेछापको विचमा पर्ने दोभानटारमा निर्माण गर्ने गरी ठेक्का प्रकाशित भएको छ । यसअघी उक्त स्थानमा पुल थिएन ।
२०८० असोज १२ गते पुल बगेपछि खुर्कोटमा तत्कालै बेलिब्रिज जडान गरेर रामेछापलाई विपी राजमार्ग संग जोडिएको थियो भने खैरेनीमा हालै मात्र भारत सरकारले उपलव्ध गराएको बेलिव्रिज जडान गरी आवागमन खुलाइएको छ ।
नयाँ ठेक्का अनुसार निर्माण व्यवसायीले अव पुल निर्माण गर्ने स्थानको चयन, डिजाईन र लागत अनुमान आफैले गर्नुपर्नेछ । डिजाईन एण्ड विल्ड प्रकृतिको उक्त ठेक्कामा सरकारले सर्वे डिजाईन र लागत अनुमान तयार गरी स्वीकृत गरेको अवस्था हुदैन् । निर्माण व्यवसायीले आफैले गर्नुपर्ने भएकाले पुल निर्माणका लागि भने समय लाग्नेछ ।
खुर्कोटमा हाल रहेको पुल आसपासको क्षेत्रमा पुल निर्माण हुन सक्ने भएपनि खैरेनीघाटमा भने केहि तल पुल बनाउने चर्चा चलेको छ । सिन्धुलीको दुम्जा नजिकको टुप्पिडाडाँमा एका तर्फको जग हुने गरी पुल वनाउने कुरा यसअघी चर्चामा आएको थियो । उक्त स्थानलाई त्यस आसपास सवैभन्दा सुरक्षित मानिएको छ । रोशीखोलाका कारण दक्षिण तर्फको सडक र पुलको जग सधैं बाढीको जोखिममा पर्ने भएकाले खैरेनीको पुल टुप्पिडाडाँमा लैजानुपर्ने प्राविधिकहरुको तर्क रहेको छ । यसैविच डिभिजन सडक कार्यालय खाल्टेले बेथान देखि दोरम्बा सम्मको सडकलाई स्तरोन्नति गर्नका लागि पनि ठेक्का आव्हान गरेको छ ।
