रामेछाप । रामेछापको मन्थली नगरपालिकाले चालु आर्थिक बर्षको दोश्रो चौमासिक अवधिको बुधबार ८ नम्बर वडा चिसापानीमा आयोजना गरेको सार्बजनिक सुनुवाई कार्यक्रममा नगरपालिकाले सम्पादन गरेका विकास निर्माण र प्रशासनिक गतिविधिका बारेमा सर्वसाधारणले विभिन्न जिज्ञासा राखेका छन् ।

आर्थिक बर्षको अन्त्य हुन लाग्दा समेत विकास बजेटको खर्च अवस्था संतोषजनक नरहेको, शिक्षक भर्ना गर्दा प्रश्नपत्र बाहिरीएको जस्ता गुनासो गर्नुका साथै दैनिक प्रशासनिक काम, स्वास्थ्य सम्बन्धि संवेदनशिलता लगाएतका विषयमा नगरबासीले प्रश्न गरेका थिए ।

सार्बजनिक सुनुवाई कार्यक्रममा उठेका विभिन्न सवालहरुको नगर प्रमुख लब श्रेष्ठ, उप प्रमुख ईश्वरी बस्नेत, प्रमुख प्रशासकिय अधिकृत देबर्षि सापकोटा , कार्यपालिकाका सदस्यहरु र विषयगत शाखाका प्रमुखहरुले जवाफ दिएका थिए ।

यसैविच सार्बजनिक सुनुवाई सगैं बुधबार चिसापानीमा एकिकृत घुम्ती सेवा समेत आयोजना गरिएको थियो । सो अवसरमा स्वास्थ्य परिक्षण, उपचार र औषधि वितरण, कृषि र पशु सम्बन्धि सेवा, जेष्ठ नागरिक सम्बन्धि सेवाका साथै योजना सम्बन्धि परामर्श सेवाप्रवाह गरिएको मन्थली नगरपालिकाले जनाएको छ ।