रामेछाप । रामेछापको गोकुलगंगा गाँउपालिकाका ६ वटै वडामा वितरण भएको खानेपानीमा दुषित विषात्त ई–कोली (ब्याक्टेरिया ) फेला परेको छ । ई–कोली ब्याक्टेरिया देखा पर्नुलाई खानेपानीको क्षेत्रमा गम्भिर समस्याको रुपमा लिने गरिन्छ ।
गोकुलगंगाका १ नम्बर देखि ६ नम्बर वडा सम्मका बेग्ला बेग्लै १८ वटा खानेपानी योजनाको पानी परिक्षण गरिएकोमा प्राय सवैमा ई–कोली फेला परेको हो । जनस्वास्थ्य कार्यालय रामेछापमा रहेको प्रयोगशालामा पठाएर पानीको परिक्षण गरिएको थियो ।
पानीमा विषाक्त ई–कोली फेला परेको प्रयोगशाला प्रतिवेदन आएपछि बुधबार गोकुलगंगा गाउँपालिकाले सार्बजनिक सूचना प्रकाशित गरी पिउने पानी शुद्धिकरण गरेर प्रयोग गर्न गोकुलगंगाबासीहरुलाई आग्रह गरेको छ । सूचनामा ई–कोली फेला परेको खानेपानी योजनाको मुहानको विवरण समेत प्रकाशित छ ।
गाउँपालिका स्वास्थ्य शाखा संयोजक जागिर रायका अनुसार खानेपानीमा ई–कोली फेला परेपनि मानव स्वास्थ्यमा अहिले सम्म कुनै समस्या आएको छैन् । ‘हामीलाई कुनै पनि झाडापखाला, ज्वरो जस्ता संक्रमण भएको केस हाल सम्म जानकारीमा आएको छैन्’ रायले भने – पालिकाले नियमित खानेपानी परिक्षणका क्रममा उक्त विषाक्त फेला परेको हो । समस्या भएर परिक्षणका लागि खानेपानीको नमुना जनस्वास्थ्य प्रयोगशालामा पठाइएको हैन् ।
ई–कोलीका कारण खानेपानी दुषित हुदाँ मानव स्वास्थ्यमा गम्भिर समस्या सम्म आउने स्वास्थ्यकर्मीहरु वताउछन् । पेट दुख्ने, वान्ता हुने, झाडापखाला लाग्ने, ज्वरो आउने समस्या उक्त विषाक्त पानी पिउदाँ मानव स्वास्थ्यमा देखा पर्छन् । कहिले काँहि यसले हैजाको संक्रमण सम्म हुने जोखिम हुनेगर्छ ।
पालिकाको खानेपानी तथा सरसफाई शाखाले पिउने पानीमा ई–कोली देखिएपछि सवै वडा अध्यक्षलाई पिउनेपानी उमालेर र शुद्ध बनाएर मात्र प्रयोग गर्न स्थानीय बासिन्दालाई सन्देश दिन आग्रह गरेको खापासटे कृष्ण श्रेष्ठ बताउछन् । उनले पालिका संग तत्काल अरु कुनै योजना नभएको बताए । ‘हामी पालिकाका अध्यक्ष लगाएतका जनप्रतिनिधिसंग बसेर यस बारेमा आगामी योजना बनाउनका लागि छलफल गर्ने तयारीमा छौं ’ श्रेष्ठले भने ।
बर्षाको समयमा मानव तथा पशुपंक्षिको दिसा बगेर खानेपानीकोको श्रोतमा मिसिदा यस प्रकारको समस्या आउने गरेको पाईन्छ । खानेपानी तथा सरसफाई महासंघ रामेछापका लेखवहादुर कार्की ई–कोली लगाएतका पानीमा देखिने विभिन्न विषाक्त कुराहरुलाई नियन्त्रण गरी शुद्ध खानेपानी पिउन उपभोक्ताहरुमा अझै पनि सचेतनाको अभाव रहेको वताउछन् ।
कार्कीका अनुसार खानेपानी धारामा झरुन्जेल (आउन्जेल) सम्म योजनाका विभिन्न संरचनाहरुको नियमित सफाई गर्ने तर्फ चासो नदिदाँ यस प्रकारका गम्भिर समस्या उत्पन्न हुने गरेका थुप्रै उदाहरण छन् । खानेपानीको मुहानको संरक्षण, सफाई, पानी जम्मा गर्ने ट्यांकीको सफाई, वितरण लाईनमा हुने चुहावटको नियन्त्रण गर्दा ई–कोली लगाएतका विषाक्त देखिने समस्या कम भएर जाने कार्कीको भनाई छ ।
स्वास्थ्य संयोजक राय समस्या देखा परेको अवस्थामा अवभने स्थानीय बासिन्दालाई खानेपानी उमालेर, फिल्टर गरेर र सोडिस विधि प्रयोग गरेर मात्र पानी पिउनका लागि स्वास्थ्यकर्मी मार्फत सन्देश प्रवाह गर्ने वताउछन् । ‘हामीले आफ्नो तर्फबाट प्रवाह गर्ने सन्देशमा कुनै कमि हुनेछैन् ’ रायले भने – अरु योजना खानेपानी तथा सरसफाई शाखाले बनाउला ।
खानेपानीमा ई–कोली मिसिएको भेटिएपछि खानेपानी संरचनाको सरसफाई, बर्षाको भल मुहानमा मिसिन नदिनका लागि संरचनाको निर्माण र क्लोरिन लगाएत प्रयोग गर्न प्राविधिकहरुले सुझाउने गर्छन् । रामेछापमा गत बर्ष उमाकुण्ड र रामेछाप नगरपालिकामा समेत ई–कोली विषाक्त खानेपानीमा फेला परेको थियो । उमाकुण्डमा त्यसैको कारण धेरै जना विरामी परेका थिए ।
