रामेछाप । गए राति परेको अबिरल बर्षा पछि रोशी खोलामा आएको बाढीले बिपी राजमार्गको डाईभर्सन बगाएको छ । डाईभर्सन बगाएपछि राति देखिनै बिपी राजमार्ग अवरुद्ध भएको छ । राजमार्ग बाढीले क्षति गरेको एक सातामै यो दोश्रो पटक हो । शुक्रबार बगाएको सडक मर्मत गरेर आईतबार मात्र संचालनमा आएको थियो ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार मंगलबार राति विभिन्न स्थानका डाईभर्सन खोलाले पुरै बगाएको छ । क्षति शुक्रबारको जतिनै भएको छ तर मर्मतको काम बेलामानै सुरु भएकाले आज अपरान्ह सम्म राजमार्गमा आवागमन संचालन हुन सक्ने अनुमान प्रहरीले गरेको छ । राजमार्ग खुलाउनका लागि सडक विभाग र निर्माण व्यवसायीका मेसिन औजार प्रयोग गरिएका छन् ।

बिपी राजमार्ग स्थायी रुपमा पुननिर्माणका लागि हाल रोशी खोलैखोला सडक संचालन गरिएको छ । अलिकली खोला आउना साथ सडक अवरुद्ध हुने गरेको हो । साविकको सडकमा अस्थायी रुपमा पनि यातायात संचालन गर्न सक्ने अवस्था भइसकेको छैन् । सिमेन्टका गतिला स्टक्चर निर्माण गर्नुपर्ने भएकाले धेरै स्थानमा खोलाकै भर पर्नुपरेको छ ।