रामेछाप । संघीय सरकारले सातामा दुई दिन सार्वजनिक विदा दिएर अन्य पाँच दिन विहान ९ बजे देखि साँझ ५ बजे सम्म कार्यालय संचालन गर्ने निर्णय कार्यान्वयन गर्दा विभिन्न समस्या देखाउदै रामेछापको गोकुलगंगा गाउँपालिकाले आईतबार विदा नदिने भएको छ । संघीय सरकारले शनिबार र आईतबार विदा दिने निर्णय गरेपछि केहि समय देखि उक्त निर्णय कार्यान्वयनमा आएको छ ।
गोकुलगंगा गाउँपालिकाको मंगलबार बसेको कार्यपालिका बैठकले आईतबार विदा दिदा विद्यालयमा पाठ संख्इा पुरा नहुने, शैक्षिक गुणस्तरमा असर पुग्ने, स्वास्थ्य सेवा प्रभावकारी बनाउन नसक्ने र ग्रामिण भेगका बासिन्दालाई उपचार गराउनका लागि कठिनाई हुने जनाएको छ ।
गाउँपालिकाको क्षेत्र ग्रामिण भेग भएकाले ईन्धनको खपत न्यून हुने र आईतबार समेत कार्यालय संचालन गर्दा सार्वजनिक सेवा प्रवाह छिटो छरितो हुने जनाएर उक्त गाउँपालिकाले आईतबारको विदा कटौती गरेको हो ।
गाउँपालिकाका अध्यक्ष काजिवहादुर खड्काले मंगलबार जारी गरेको सूचनामा बैशाख १६ गते देखि लागू हुने गरी विहान १० देखि वेलुका ५ बजे सम्म र शुक्रबार विहान १० बजे देखि अपरान्ह ३ बजे सम्म कार्यालय समय हुने भएकाले सो अनुरुप सेवा संचालन गर्न विद्यालय, स्वास्थ्य संस्था र सरोकारवाला निकायलाई आग्रह गरिएको छ । रामेछापका अन्य पालिकामा भने संघीय सरकारको निर्णय बमोजिमनै सातामा दुई दिन सार्वजनिक विदा दिने निर्णय कार्यान्वय हुदै आएको छ ।
