काठमाडौं । नेपाली काँग्रेसको संसदीय दलको नेतामा भीष्मराज आङदेम्बे निर्बिरोध निर्बाचित भएका छन् । काँग्रेसको सोमबार बसेको संसदीय दलको बैठकले आङदेम्बेलाई संसदीय दलको नेतामा निर्बिरोध निर्वाचित गरेको निर्वाचन समितिका संयोजक सहमहामन्त्री प्रकाश स्नेह रसाईलीले जनाएका छन् ।

नेपाली काँग्रेसमा लामो समय देखि संसदीय दलको नेता चयनमा सहमति जुटन सकेको थिएन । पार्टीका नेता अर्जुन नरसिंह केसी र रसुवा बाट निर्वाचित मोहन आचार्यले संसदीय दलको नेतामा दावि गरेकाले सहमति जुटनका लागि समय लागेको थियो । केसीले हिजै आफ्नो दावि नरहेको जनाएका थिए । उनी पार्टी सभापति गगनकुमार थापाका ससुरा भएका कारण पनि अफ्ठेरोमा परेका थिए ।

सोमबारको बैठकमा नेता चयनका लागि आङदेम्बे माथि पुरानो संस्थापन पक्षले समेत समर्थन गरेकाले निर्बिरोध चयन भएको जनाइएको छ । आङदेम्बे समानुपातिक तर्फका सांसद हुन् । उनी नेपाली काँग्रेसको १४ औं महाधिवेशनबाट सह महामन्त्रीमा निर्वाचित भएका थिए । विशेष महाधिवेशनमा उनको सहभागिता नभए पनि पछिल्लो समय उनले पार्टी सभापति गगनकुमार थापाको नेतृत्वको साथ दिएर काम गर्ने प्रतिवद्धता जनाएका थिए ।