रामेछाप । सुनकोशी तिर फर्केको रामेछापको खनियापानी स्थित दक्षिणी तातो पाखोमा अव आँखै खाने गरी सिसाका प्लेटहरु आकाश तिर फर्काएर त्यसबाट उर्जा निकाल्ने तयारी हुन लागेको छ । कम पानी पर्ने र विहान देखि बेलुका सम्मै घाम लाग्ने उक्त पाखो यसअघी त्यतिधेरै काममा आएको थिएन । तर अव सुनापतिलाईनै सम्बृद्ध बनाउने गरी सूर्यको तापलाई उर्जामा बदल्न सो पाखो मूल्यबान भएको छ ।

योजना अनुसार काम भएमा अव छिट्टैनै दक्षिण पश्चिम रामेछापको सुनापति गाउँपालिकामा सौर्य उर्जा बाट १ मेघावाट क्षमताको विद्युत उत्पादनका लागि काम संचालन हुने भएको हो । सौर्यउर्जाबाट त्यति ठुलो परिणाममा विद्युत उत्पादन गर्ने रामेछापमा सुनापतिनै पहिलो पालिका हुनेछ । गाउँपालिकाले दुई बर्ष अघी देखि उक्त योजनाका लागि काम गर्दै आएको र त्यसका लागि विभिन्न चरणहरु पार गरेकाले यसबर्ष भने योजना कार्यान्वयनमा जुटेको हो ।

सौर्य उर्जाबाट उत्पादित १ मेघावाट विद्युत नेपाल विद्युत प्राधिकरणलाई विक्री गर्ने लक्ष्य लिईएको छ । गाउँपालिकाका अध्यक्ष ठुलोकान्छा तामाङका अनुसार पालिकाको दीर्घकालिन आयश्रोतका लागि उक्त योजना कार्यान्वयनमा ल्याउन लागिएको हो । योजना निर्माणका लागि करिव ८ करोड लगानी हुने वताउदै अध्यक्ष तामाङले गाउँपालिकाले ५१ प्रतिशत र अन्य लगानी कम्पनीले वेहोर्ने गरी योजना कार्यान्वयन गर्ने तयारी छ । सौर्यउर्जा उत्पादनका लागि पालिकाले चालु आर्थिक बर्षमा २ करोड बजेट विनीयोजन गरेको गाउँपालिकाकी उपाध्यक्ष गीता विष्टले वताईन् ।

सौर्यउर्जाबाट विद्युत उत्पादन गर्नका लागि सुनापति सौर्यउर्जा कम्पनी खडा भएको छ । उक्त कम्पनीमा शेयर लगानी गर्नेहरुले कुल लागतको ४९ प्रतिशत लगानी जुटाउने गरी योजनाको मोडालिटी अघी बढेको अध्यक्ष तामाङले वताए ।

सुनापतिमा सौर्यउर्जाबाट उत्पादित विद्युत छिमेकी खाँडादेवि गाउँपालिका वडा नम्बर १ राकाथुममा रहेको नेपाल विद्युत प्राधिकरणको ३३ केभि सव–स्टेशन र स्थानीय रुपमा रहेका ट्रान्सफरमर मार्फत केन्द्रीय प्रशारणमा जोड्ने लक्ष्य रहेको छ । उत्पादित विद्युत प्रतियुनिट ४ रुपैयाँ ९९ पैसामा खरिद विक्री गर्ने गरी नेपाल विद्युत प्राधिकरण संग संझौताको तयारी समेत गरिएको छ । गत बर्षनै सो योजनाको निर्माण पुरा भएको भए प्राधिरणकाले त्यसभन्दा बढी मूल्य दिने गरी संझौता गरेको थियो । तर योजना कार्यान्वयनमा ल्याउन पालिकाले सकेन ।

गाउँपालिकाका अध्यक्ष ठुलोकान्छा तामाङले सौर्यउर्जाले २५ बर्ष सम्म विद्युत उत्पादन गर्नेछ । त्यसमध्ये सुरुका १५ बर्ष पुर्ण क्षमतामा उत्पादन हुनेछ भने त्यसपछिका १० बर्षमा आंशिक उत्पादन दिनेछ ।

सौर्य उर्जा बाट स्थानीय स्तरमा विद्युत उत्पादन भएमा सरकारी तथा सामुदायिक संघ संस्थाहरुलाई सुलभ ढंगले विद्युत आपूर्ति गर्नका लागि सहज हुने विश्वास स्थानीयले लिएका छन् । त्यसका अतिरीक्त केन्द्रीय प्रशासण लाईनमा ठुलै समस्या आएमा आफ्नै पालिकामा उत्पादिन विद्युतलाई उपयोग गर्न सक्षम हुनेमा पनि स्थानीय ढुक्क छन् । सुनापति गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुरेश श्रेष्ठ स्थानीय सरकार सबल र सक्षम हुनका लागि दीर्घकाल सम्म आयआर्जन गर्ने र स्वनिर्भर हुने खालका योजनामा निर्माणमा पालिका जुटेको वताउछन् । साना र मसिना काम थुप्रै हुन्छन् तर देखिने र दीर्घकाल सम्म प्रभाव दिने खालका योजनामा समेत सगसगै लगानी गरेर जानु पर्नेमा उनको जोड रहेको छ ।