रामेछाप । शनिबार अपरान्हको बर्षाको कारण रोशी खोलामा आएको बाढीले क्षतिग्रस्त बनाएको बिपी राजमार्ग आईतबार अपरान्ह सम्म पनि संचालनमा आएको छैन् ।

रोशीको बाढीले काभ्रेको चौकीडाडाँ देखि सिन्धुलीको नेपालथोक सम्मको खण्डमा विभिन्न स्थानमा अस्थायी डाईभर्सन बगाएको थियो । रोशीमा आएको बाढीले बगाएको सडक भाग पुनसंचालनका लागि डोजर लगाएर डाईभर्सन बनाउने काम थालिएपनि थोरै मात्र प्रगति भएको छ ।

यसैविच रोशीको बाढीका कारण राजमार्गका विभिन्न स्थानमा अलपत्र परेका झण्डै ७ सय यात्रुहरुलाई काभ्रे प्रशासनले उद्धार गरेर तिमालको कच्चि सडक हुदै भकुण्डे तर्फ पठाएको छ । अझै केहि यात्रु रोशीमा अलपत्र रहेका छन् । नेपालथोक देखि मंगलटार सम्मको भागमा रोकिएका यात्रुहरुलाई तेमालको सडक बाट पठाइएको हो । प्रहरीले राेशी खाेलामा अलपत्र परेर उद्धार गरेका यात्रुहरुलाई भकुण्डेबे‌शीमा फलफुल पानी र खाद्यान्नकाे व्यवस्था गरी वितरण थालेकाे छ । भकुण्डे पुगेका यात्रुहरुलाई प्रयाप्त सवारी साधनकाे व्यवस्थाका लागि पनि प्रहरीले यातायात व्यवसायी स‌ग समन्वय गरिरहेकाे छ । 

रोशीको बाढीका कारण बिपी राजमार्ग अवरुद्ध भएपछि मध्यपहाडि राजमार्ग हुदै काभ्रेको दोलालघाट भएर काठमाडौ तर्फ आउजाउ बढेको छ । केहि सवारी साधन सिन्धुलीको खुर्कोट हुदै रामेछापको मन्थली निस्केर दोलखा तर्फको सडक प्रयोग गरी काठमाडौं ओहोर दोहोर गरीरहेका छन् । 

बर्षा लाग्नु अगावै बिपी राजमार्गको यात्रा जोखिमपूर्ण बनेको छ । कतिबेला रोशीमा बाढी आउने भन्ने त्रासले रोशी खोलाको यात्रा गर्न यात्रुहरुलाई भय हुने गरेको छ । यसअघी पनि पटक पटक खोलाको कारण सडक अवरुद्ध भएको र सवारी साधनमा क्षति पुगेको छ । बाढीले एक जनाको ज्यान समेत गएको छ ।

सरकारले पुननिर्माणको क्रममा रहेको विपी राजमार्गको निर्माण सहजताकोलागि हाल खोलाको बगरै बगर यातायात संचालन हुने गरी डाईभर्सन निर्माण गरेको छ । स्थायी संरचना निर्माणका लागि अझै केहि महिना लाग्ने अवस्था रहेको तर बर्षायाममा अस्थायी रुपमै भएपनि सुरक्षित सडक बाटै यात्रा गराउने गरी काम भइरहेको सडक विभागले जनाएको छ ।