रामेछाप । विश्वको सर्बोच्च शिखर सगरमाथाको सफल आरोहण गरी फर्केका मन्थली १ निवासी २५ बर्षिय आरोहि धानुकुमार श्रेष्ठलाई मंगलबार नेकपा एमाले मन्थली वडा समितिले सम्मान गरेको छ ।

उक्त वडा समितिको आयोजनामा भएको सम्मान कार्यक्रममा आरोहि श्रेष्ठलाई नेकपा एमाले बागमति प्रदेश समिति सदस्य तथा प्रदेशसभाका सांसद आनन्दकुमार श्रेष्ठले सम्मान गरेका थिए । कार्यक्रम नेकपा एमाले वडा समितिका अध्यक्ष तिर्थ सुवेदीको अध्यक्षतामा भएको थियो ।

आरोहि श्रेष्ठलाई मंगलबारनै मन्थलीको साहारा बचत तथा ऋण सहकारी संस्थाले सम्मान गरेको थियो । उक्त कार्यक्रममा श्रेष्ठका माता मिङ्मा शेर्पा श्रेष्ठ र पिता टंककुमार श्रेष्ठ समेत सम्मानित भएका थिए ।

पर्वातारोहि धानु कुमार श्रेष्ठले यहि जेठ ७ गते दिउँसो १ बजे सर्बोच्च शिखरको सफल आरोहण गरेका थिए । पर्वतारोहण गाईड र हिमाली श्रृंखलाको फोटो तथा भिडियोग्राफि गर्दै आएका श्रेष्ठले गत बर्ष पनि उक्त शिखर आरोहण गर्न प्रयास गरेका थिए । तर तेश्रो शिविरमा पुगेपछि उनले आरोहण अभियान त्यागेर फर्केको वताए । यस बर्ष उनी बेलायतको पर्वतारोहण टोलीमा समावेश भएर त्यस तर्फ गएका थिए ।

यसैविच पर्वतारोहि श्रेष्ठले युरोपको सर्बोच्च शिखर रुसको एलब्रसको सफल आरोहण गरेका छन् भने नेपालको लुवुचेको ३ पटक आरोहण गरिसकेका छन् । उनले ६ हजार भन्दा माथिका अन्य धेरै हिम टाकुरामा पाईला राखेका छन् । 

हिमाल आरोहण गरी घर फर्केका श्रेष्ठलाई केहि दिन देखि मन्थली नगरपालिका लगाएत विभिन्न संघ संस्थाले सम्मान गर्ने क्रम चलिरहेको छ । मन्थली नगरपालिका १ नम्बर वडामा उनीनै सर्बोच्च शिखरमा पुग्ने एक्ला आरोहि हुन् ।