रामेछाप । २० औं राष्ट्रिय जातिय छुवाछुत उन्मुलन दिवसको अवसरमा रामेछापमा दलित अगुवा तथा व्यवसायीहरु सम्मानित भएका छन् । नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ रामेछापले बिहिबार मन्थलीमा आयोजना गरेको कार्यक्रममा उनीहरुलाई सम्मानित गरिएको हो । सम्मानित हुनेमा दलित अधिकारकर्मी तथा अगुवा व्यवसायी आकाश रिजाल र सिताराम लोहार लगाएत रहेका छन् ।

नेपाल राष्ट्रिय दलित कल्याण संघ रामेछापका अध्यक्ष लेखवहादुर बिकको अध्यक्षतामा भएको उक्त कार्यक्रममा रामेछाप जिल्लामा विभेदका घटना र भावि योजनाहरुका बारेमा अन्तरक्रिया समेत गरिएको थियो । कार्यक्रममा मन्थली नगरपालिकाका प्रमुख लब श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापा, नेपाल पत्रकार महासंघका जिल्ला शाखा अध्यक्ष दिपक घिमिरे लगाएतले दलित अधिकार र विभेदका घटनाहरुलाई न्यूनीकरण गर्न अपनाउनु पर्ने उपायहरुका बारेमा आ आफ्ना धारणा राखेका थिए ।

सोहि कार्यक्रममा गत बर्षको एसईई परिक्षामा रामेछाप जिल्लाबाट ४ जिपीए ल्याउने मन्थली माविकी छात्रा प्रतिमा नेपालीलाई समेत सम्मानित गरिएको थियो ।