रामेछाप । उमेरका हिसावले हजुरबा र नाति नातिना जस्ता लाग्ने दुईथरी विद्यार्थी एकै कक्षामा अध्ययन गर्ने कुरा सुन्दा धेरैलाई अनौठो लाग्छ । तर रामेछापको पुरानागाउँको बाहुनचुरा स्थित थानापति आधारभुत विद्यालयको कक्षा ५ मा अहिले सेतै दारिजुँगा र कपाल भएका एक जना बृद्ध र नातिनातिना जस्तै लाग्ने अरु ५ जना बालबालिकाहरु सगैं अध्ययन गरिरहेका छन् ।
बृद्धभत्ताका लागि सरकारी दैलो चहार्ने बेला भएका मन्थली नगरपालिका ९ पुरानागाउँका बेनवहादुर बोहोरा कक्षा ५ मा अध्ययन गर्दै दिन विताउछन् । बोहोरा अहिले ६८ बर्षका भए । कक्षा ५ मा उनको रोल नम्बर ६ रहेको छ । २ जना छात्रा र ३ जना छात्र सगैं उनी विहानी प्राथना देखि विद्यालयमा ताला नलागुन्जेल सगैं हुन्छन् ।
‘मलाई लाज लाग्दैन, सधैं विद्यालय आउछु र केहि सिक्छु ’ बोहोरा भन्छन् – साना नानीहरुलाई पनि आफुले जानेको सिकाउछु, उनीहरुले पनि मलाई गणीत र विज्ञान सिकाउछन् । बोहोरालाई गणीत र विज्ञानको कुरा पढ्दा अहिले कठिन जस्तो लाग्छ । अग्रेंजी र सामाजिक विषयहरु त उनका लागि फरर । भारतमा रोजगारीका लागि बस्दा उनले अंग्रेजी विषयको भाषा र लेखाई धेरथोर सिकेका थिए ।
घरमा साहारा र गुजाराको उपाय नभएपछि बोहोराले विद्यालयमा भर्ना भएर अध्ययन गर्ने बाटो रोजेका हुन् । घर बाट झण्डै २० मिनेट टाढा पर्ने विद्यालयमा पुगेपछि दैनिक खाजा खान पाउने र केहि कुरा सिक्न पाउने कुराले उनलाई हुटहुटी बनाइरहेको छ । भर्ना भए देखिनै उनले कक्षा कोठामा नियमित उपस्थिति जनाइरहेका छन् ।
गाउलेहरु हाँसो गर्छन् खिसी गर्छन् बोहोरा भन्छन् – मलाई हाँसो र खिसीले केहि लाज लागेको छैन् । ब्रम्हाकुमारी राज योगको कक्षा लिएका बोहोराले जिवनलाई सहज रुपमा बुझेका छन् । अरु हसौंलो गर्दा गर्दै यहि विद्यालयमा मैले कक्षा ८ सकेर फुलासीको पोखरी स्थित माविको कक्षामा जाने सुर कसेको छु बोहोराले भविष्यको योजना सुनाए – तर उमेरले साथ देला कि नदेला भन्ने चिन्ता छ । पढ्दा पढ्दै माथि जान पाए अझ मज्जा हुन्थ्यो उनले भने – मावि पढन् पाउछु कि पाउदिन ।
बोहोरा विद्यालयमा भित्र्याएपछि विद्यालयले पनि पाका विद्यार्थीको साथ पाएको छ । कक्षा कोठामा रहेका अरु ५ जनालाई उनलेनै सम्झाउछन् । चकचक र झैझगडा हुन दिदैनन् । उनी मोनिटर जस्तो भूमिकामा हुन्छन् । साना नानीहरुलाई मैले जानेको ज्ञान गुनका कुरा सिकाउछु, उनीहरुलाई मलाई पढन् सिकाउछन् बोहोराले भने ।
बोहोरालाई यो उमेरमा सरकारी विद्यालयमा भर्ना हुने कुरा भित्र ठुलो पिडा लुकेको छ । २२ बर्ष अघी श्रीमति पार्वति वितिन् । दुईटी छोरीहरु सुनिता र विनिता विवाह गरी आ आफ्ना घर गए । छोरा छैनन् । अहिले उनी एक्लै छन् ।
बोहोरा उमेर हुदाँ रोजगारीका लागि भारतको कलकता तिर वस्थे । धेरै बर्ष कलकता बसेपछि उनी स्वदेश फर्के । काठमाडौं तिर ज्यामी काम गरेर परिवार पाल्थे । ज्यामी काम गर्दागर्दै एकदिन उनी ३५ फिट माथिबाट भुईमा बजारिए । फलामे रड कानको जाली फुटाउदै भित्रै पस्यो । हात भाँचियो । त्यसपछि सुरु भए उनका दुख्खका दिन ।
हात तल माथि जादैंन् । कानमा श्रबणयन्त्र घुसाएन भने सुन्न गाह्रो छ, सक्दैनन् । विद्यालयमा जादा पोशाक माथि उनले ज्वारिकोट लगाएका कारण पनि त्यहि हो । ज्वारिकोटको गोजिमा कान सुन्नका लागि श्रवणयन्त्र राखेका हुन्छन् ।
बोहोरा २०७२ सालको विनासकारी भूकम्प पछि काठमाडौं बाट घर फर्केका हुन् । सरकारले दिएको अनुदान बाट एककोठे घर बनाउन लगाए । तर त्यो घर भित्र राख्ने सामान र खाने सामल केहि थिएन । असक्त भएकाले सरकारले अपाङ्ग भत्ता दिन्थ्यो । महिनाको २ हजार १ सय २८ रुपैयाँ भत्ता आउथ्यो । त्यसैले खानका लागि सामल बेसाउथे ।
गत बर्ष देखि सरकारले अपाङ्ग भत्ता खोस्यो । बोहोरा भन्छन् – किन खोस्यो थाहा छैन् । म र म जस्ता धेरै अपाङ्ग भत्ता काटिनेमा परे । त्यसपछि बोहोराको चुल्हो बल्न छोड्यो । खाने मेसो केहि भएन । आसपासका दाजुभाई र सहयोगीकोमा मागेर गुजारा चलाउन बाध्य छन् ।
उनको अवस्था दयनिय बन्दै गएको बेलामा शिक्षकहरुको ध्यान उनलाई विद्यालयमा भर्ना गराउनेमा गयो । विद्यालयका प्रअ राजकुमार बोहोराका अनुसार पाकै उमेरका भएपनि विद्यालयमा भर्ना भए देखि दैनिक खाजा खान पाउने र उनले केहि सिक्ने अवसर पनि पाउथे कि भन्ने मनसाय शिक्षकहरुले राखे । उक्त प्रश्ताव बोहोरालाई सुनाएपछि खुसी साथ स्वीकारे र भर्ना पनि भइहाले ।
बोहोरालाई दिनमा खाजा दिएर मात्र गुजारा चल्ने कुरा भएन । विहान बेलुका हातमुख जोर्नका लागि अहिले शिक्षकहरुलेनै भरथेग गरीदिएका छन् । ‘भत्ता खोसिएपछि विजोग भयो भन्ने कुरा मैले मन्थली नगरपालिकाका प्रमुख लब श्रेष्ठलाई सुनाएको छु’ प्रअ बोहोरा भन्छन् – मेयरसाबले दाल चामल सम्मको व्यवस्था गरिदिउँला न त भन्नु भएको छ ।
